काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले करीब ८० करोड रुपैयाँ लगानी गरेर अन्तरराष्ट्रिय स्तरको गार्मेन्ट उद्योग ‘गार्मेन्ट गियर प्राइभेट लिमिटेड’ स्थापना गर्ने भएका छन् । उक्त उद्योग रूपन्देहीको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना हुने भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले यस उद्योगको दीर्घकालीन बैंक सुविधाहरूका लागि ‘केयर एनपी बीबी’ र अल्पकालीन सुविधाहरूका लागि ‘केयर एनपी ए फो’ रेटिङसमेत प्रदान गरेको छ ।
लुम्बिनी प्रदेशको रोहिणी गाउँपालिकास्थित सेजभित्र स्थापना हुन लागेको यस उद्योगले वार्षिक करीब ५७ लाख ६० हजार थान तयारी पोशाक उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले डेनिम बटम्स, लेगिङ्स, जेगिङ्स, शर्ट र निटवेयर जस्ता गार्मेन्ट उत्पादन गरी अमेरिका, क्यानडा, यूरोप र भारतीय बजारमा निर्यात गर्ने योजना बनाएको छ । साथै, केही उत्पादनहरू भाटभटेनी सुपरस्टोरमार्फत् स्थानीय बजारमा समेत विक्री गरिनेछ ।
उद्योगको नेतृत्व भाटभटेनी सुपरमार्केटका संस्थापक गुरुङले गरिरहेका छन् भने सञ्चालक समितिमा शिक्षा क्षेत्रका उमेश श्रेष्ठसमेत रहेका छन् ।
आयोजनाको कुल अनुमानित लागत ८० करोड ४० लाख रुपैयाँ रहेको छ । यसमा ७५ प्रतिशत ऋण (६० करोड रुपैयाँ) र २५ प्रतिशत इक्विटी (२०.४ करोड रुपैयाँ) रहने गरी वित्तीय संरचना तयार गरिएको छ । सन् २०२६ जनवरी अन्त्यसम्ममा उद्योग स्थापनाको करीब ३४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ भने संस्थापकहरूले ७४ प्रतिशत इक्विटी लगानी गरिसकेका छन् ।

सेजमा स्थापना भएका कारण यस उद्योगले ठूलो कर छुट र सुविधाहरू पाउनेछ । उद्योगले शुरुको ५ वर्षसम्म संस्थागत आयकरमा शत्प्रतिशत छुट र त्यसपछिको ५ वर्षसम्म ५० प्रतिशत छुट पाउनेछ । साथै, कच्चा पदार्थ र मेसिनरी आयातमा भन्सार महशुल, भ्याट र अन्तःशुल्कमा पूर्ण छुट प्राप्त हुनेछ ।
रेटिङ एजेन्सीका अनुसार, निर्माणाधीन अवस्थामा रहेकाले आयोजना समयमै सम्पन्न गर्ने र सञ्चालनमा आएपछि बजारमा स्थिर हुने चुनौती कम्पनीसामु छ । यसका साथै, चीनबाट आयात गरिने कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र अमेरिकी डलर वा चिनियाँ युआनको विनिमय दरमा आउने फेरबदलले नाफामा केही असर पार्नसक्ने विश्लेषण गरिएको छ ।
गार्मेन्ट गियर प्राइभेट लिमिटेड सन् २०२५ फेब्रुअरी ५ मा दर्ता भएको हो । यसले नेपालको गार्मेन्ट निर्यात क्षेत्रमा ठूलो योगदान दिने र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

