काठमाडौं- तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत हो । यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६०.१३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड उठिसकेको छ भने एक खर्ब ४४ अर्ब ३३ करोड प्राप्ति हुन बाँकी छ । त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६.१८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने एक खर्ब ९५ अर्ब ८४ करोड प्राप्त हुन बाँकी रहेको छ ।


