काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा बैंक तथा वित्तीय संस्थाले चार खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। वित्तीय संस्थाहरुले साउनदेखि माघसम्ममा निक्षेप संकलनको आधा मात्रै कर्जा प्रवाह गरेका हुन्।
यो अवधिमा संस्थाहरुले निक्षेप संकलनको करिब दुई खर्ब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन्। यो तथ्यांक गत फागुन ११ गतेसम्मको रहेको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढे पनि कर्जा प्रवाह कम भएको देखिन्छ।
यसअनुसार गत आर्थिक वर्ष ११ फागुन २०८१ सम्म बैंक तथा वित्तीय संस्थाले दुई खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा दुई खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका थिए। मुलुकमा लगानी वातावरण सुध्रिन नसकिरहेका बेला २३ भदौको जेनजी आन्दोलन र २४ को प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिले अवस्था झनै बिग्रेको छ। गत आर्थिक वर्षको सात महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढे पनि कर्जा प्रवाह कम हुनुले यसलाई पुष्टि गर्छ।

चालू वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकमा थुप्रिएको ऋण योग्य रकम घट्ने अपेक्षा थियो। सुरुका महिनामा कर्जा माग बढ्ने संकेत देखिन थालेका थिए। तर, करिब साढे सात महिनाको कर्जा प्रवाहको तथ्यांकले राष्ट्र बैंकको उद्देश्य छुन सक्ने कुनै सम्भावना छैन। कर्जा प्रवाह नभएका कारण बैंक तथा वित्तीय संस्थामा लगातार १० खर्बभन्दा बढी ऋण योग्य रकम (अधिक तरलता) थुप्रिएको छ।

