अमृत गिरी
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु जिल्ला, रुपन्देही जिल्ला र नवलपरासी जिल्ला समेटिने गरी तयार पारेको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ अब कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ ।
सहरी विकास मन्त्रालय मार्फत अगाडि बढेको यो परियोजनाको संयुक्त अध्ययन प्रतिवेदन तयार भएर अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकको मुख्यालयमा पुगेको छ । यो परियोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रुपन्देही, कपिलवस्तु र नवलपरासी (बसुप) का बुद्ध जन्मस्थलसंग सम्बन्धित पालिकाहरुले सहकार्य गरिरहेका छन् ।

यो १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट अनुमान गरिएको परियोजना हो । विश्व बैंक र एसीयाली विकास बैंकले परियोजनामा सहकार्य र लगानीका लागि सकारात्मक प्रतिबद्धता जनाइसकेका छन् । केही समयअघि प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैंकको मुख्यालयमा पुगेको छ । अध्ययनमा नेपाल सरकार र विश्व बैंकको संयुक्त टोली खटिएको थियो ।
यो पूर्वमा नवपरासी (बसुप) को बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज र बीचको रुपन्देहीसहित तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य सहत केही वर्ष अघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगाडि सारेको एउटा ड्रिम प्रोजेक्ट हो ।

लगानीका स्रोत खोज्ने, थप क्षेत्रहरु समावेश गरेर पर्यटन गन्तव्यहरुको पहिचान, विकास र प्रबद्र्धन गर्नेलगायतका काममा विज्ञहरुले निरन्तर अध्ययन, अन्तरक्रिया गरिरहेका थिए । अहिले सोही अध्ययनको एउटा चरण पूरा भएको छ ।
उनै पूर्वअर्थमन्त्री पौडेलको पहलमा विश्व बैंकबाट समेत विज्ञहरु संयुक्त अध्धयनमै सहकार्य गर्न तयार भएका थिए । अहिले संयुक्त अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार भएर विश्व बैकको मुख्यालयमा पुगेको र केही समयपछि नेपाल सरकारसंग सम्झौता हुने सम्मको अवस्था छ ।
मेचीकालीदैनिकबाट

