मतदानकाे पूर्वसन्ध्यामा नेपाली सेना विरुद्ध कमरुद्दिन राईकाे संवेदनशील आरोप


नेपालगन्ज । बाँके-२ मा जसपा नेपालका प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार कमरुद्दिन राईले निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना माथि संवेदनशील आरोप लगाउनु भएको छ जुन पुष्टि हुन बाँकी छ ।

मतदानकाे पूर्वसन्ध्यामा नेपाली सेना विरुद्धकाे उहाँको अभिव्यक्ति यति सामाजिक संजालमा ‘भाईरल’ छन् । जुन भिडियोमा राईले ‘सेनाले देश कब्जा गरेकाे’ देखि ‘सेनाकाे गाडीमा उम्मेदवार बिशेषका गुन्डा राखिएको’ जस्ता संवेदनशील आरोप लगाउनु भएको छ ।

सेना विरुद्धको भाईरल उहाँको अभिव्यक्तिमा धेरैले टिप्पणी गरेका छन्,-‘स्थानीय तहकाे उपप्रमुख भइसकेकाे ब्यक्तिले चुनावकाे मुखमा त्याे पनि नेपाली सेना जस्ताे संवेदनशील संस्थामा जुन आरोप लगाउनु भएको छ पक्कै पनि त्यसकाे पुष्टि गर्नुपर्ने हाेला । राजनीतिक सहानुभूति बटुल्न र भाईरल हुन मात्रै यति गम्भीर आरोप लगाउनु भएन होला ! छानबिन हुनुपर्‍यो । यथार्थ बाहिर आउनुपर्‍यो ।’

नेपालगन्ज उपमहानगरपालिकाकाे उपप्रमुखबाट राजिनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु भएका राईले ‘देश सेनाकाे कब्जामा गइसकेकाे’ आरोप लगाउनु भएको हाे ।

उहाँले रुँँदै भन्नुभएको छ,-‘ नेपाली सेनाले मलाई दुई घण्टा हाेल्ड गर्‍यो । म निमुखालाई हेप्याे । यहाँको प्रशासन बिक्याे ।’ राईले अन्य दलका उम्मेदवारलाई ‘जे गर्न पनि छुट दिएको तर आफुलाई निमुखा देखेर हेपिएको’ बताउनुभयो ।

सेनाले ठ्याक्कै यही बिषयमा कुनै टिप्पणी नगरे पनि समग्र बिषयमा भने प्रकाश पारेकाे छ । सुनियोजित ढङ्गबाट असान्दर्भिक सूचनाहरू प्रसारित भएको भन्दै यसअघि नै केन्द्रीय तहबाट गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बुधबार सेनाले एक अपील सार्वजनिक गर्दै बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा केही सुनियोजित ढङ्गबाट असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरू प्रसारित भएको भन्दै  ध्यानाकर्षण जनाएको हो ।त्यसमा विश्वास नगर्न आग्रह गरेको हो।

‘सुनियोजित ढङ्गबाट प्रसारित त्यस प्रकारका भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ । आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौं,’ सेनाद्धारा विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सबै सुरक्षा अङ्ग एवं सरोकारवाला निकायहरू एकीकृत ढङ्गले कार्य गरिरहेकोले भ्रममा नपर्न अपील गरेको छ।

प्रकाशित मितिः     २१ फाल्गुन २०८२, बिहीबार ०८:५९  |