
नेपालगन्ज । बर्खाको समयमा कहीँकतै केही पनि नदेखिने गरी नदीले ढाक्ने बाँकेकाे राप्ती नदीको बगर हिँउदमा भने राप्तीसाेनारीका स्थानीयका लागि बरदानजस्तै बनेको छ ।
नदीले ढाकेको र कटान गरेर छाडेको पचासौँ बिगाह जग्गामा अहिले तर्बुजा, काँक्रा, लौका, फर्सी, करेला फलेका छन् । बगर खेतीबाट राम्रो आम्दानी गर्ने किसानले राज्यले मल बिउमा सहयोग गर्नुपर्ने आवाज उठाएका छन् ।
छेउबाटै राप्ती नदी बगेको छ । त्यसैको बगरमा रोपिएका तर्बुजा, लौका, करेलाको स्याहार सुसारमा राप्तीसाेनारीका अधिकांशलाई भ्याइ नभ्याइ छ । राप्ती नदीले वर्षाको समयमा भने निक्कै सास्ती दिन्छ । जब नदीको भेलले विश्राम लिन्छ तब बगर खेतीका लागि चार पालिकाका नदी तट्का नागरिकहरु आफ्नो पसिना पोख्न थाल्छन् ।

कति किसान बगर खेतीमा संलग्न छन् भन्ने आधिकारिक तथ्यांक पालिकासँग छैन । तर पनि कयौं किसान बगर खेतीमा व्यस्त छन् ।
पहिला बस्ती बसेको ठाउँमा अहिले नदी बगेको छ । त्यही नदीले छाडेको बगरमा सिजन अनुसारको तरकारी तथा फलफूल खेती हुँदै आएको छ । किसानले आफ्नै लगानीमा खेती गर्दै आएका छन् ।

