प्वाल परेको बाल्टिन र मृत पुँजी: स्टक र उधारोको दलदलबाट व्यवसायलाई कसरी जोगाउने ?


नेपालको व्यावसायिक इतिहासलाई फर्केर हेर्दा एउटा दुःखद चित्र देखिन्छ; धेरै आशालाग्दा व्यवसायहरू ‘एक पुस्ता’ (One-Generation Wonder) मा मात्र सीमित भए। संस्थापकको विदाईसँगै अर्बौँका साम्राज्यहरू तासको महल झैँ ढलेका अनेकन् उदाहरण हाम्रा सामु छन्। यसको पछाडि पुँजी वा बजारको अभाव थिएन, बरु संस्थागत प्रणाली (Systemic Infrastructure) र वित्तीय अनुशासनको चरम अभाव थियो। नेपाली उद्यमीहरूमा एउटा गहिरो मनोवैज्ञानिक खाडल छ; उनीहरू व्यापार ठूलो बनाउने सपना त देख्छन्, तर त्यो व्यापारलाई धान्ने ‘प्रणालीगत मेरुदण्ड’ निर्माण गर्न लगानी गर्न हिचकिचाउँछन्। धेरै व्यवसायीहरूले सिस्टम र अडिटलाई ‘अनिवार्य खर्च’ वा ‘कानुनी झमेला’ का रूपमा मात्र हेर्ने गरेका छन्। तर हामीले बुझ्नुपर्ने मूल मन्त्र यो हो कि “पहिले तपाईंले सिस्टम बनाउनुपर्छ र त्यसपछि मात्र सिस्टमले तपाईंको व्यापारलाई साम्राज्य बनाउँछ।”

प्वाल परेको बाल्टिन – जहाँबाट पुँजीको ‘रक्तश्राव’ हुन्छ: तपाईंले एउटा बाल्टिनमा जतिसुकै पानी भर्नुभयो भने पनि यदि त्यसमा प्वालहरू छन् भने त्यो कहिल्यै भरिँदैन। नेपाली व्यवसायमा बिक्री (Sales) भनेको बाल्टिनमा भरिने पानी हो भने, अव्यवस्थित ‘स्टक’ र ‘उधारो’ ती प्वालहरू हुन् जसले व्यवसायको पुँजी रित्याइरहेका हुन्छन्।

क) सेल्सम्यान कि ग्राहकको वकिल: धेरै कम्पनीमा सेल्स टिम कम्पनीको हित रक्षा गर्नुभन्दा ‘ग्राहकको वकालत’ गर्न बढी व्यस्त देखिन्छ। बिक्रीको टार्गेट पुरा गर्ने नाममा जथाभावी र आवश्यकता भन्दा बढी उधारो (Excessive Credit) बाँड्ने प्रवृत्तिले कम्पनीको नाफालाई सखाप बनाउँछ। सेल्सम्यानले मालिकलाई “बजारमा प्रतिस्पर्धा छ, उधारो नदिए व्यापार चल्दैन” भन्दै भ्रममा पार्छन्। यदि Debtors Aging को तथ्याङ्क हेर्ने हो भने, धेरै कम्पनीको ६०% भन्दा बढी उधारो ९० दिनभन्दा पुरानो हुन्छ, जुन पछि ‘Bad Debts’ मा परिणत भएर व्यवसायको पुँजी खाइदिन्छ।

ख) मृत पुँजी – आवश्यकता भन्दा बढी खरिद: स्टोरमा ‘आवश्यकता भन्दा बढी खरिद’ (Over-purchasing) गर्ने अर्को घातक चलन छ। सस्तोमा पाइने लोभमा वा बजारको गलत प्रक्षेपणका आधारमा सामान थुपार्दा व्यवसायको नगद स्टकमा फस्न पुग्छ। जब पैसा स्टक र उधारोमा फस्छ, तब दैनिक व्यापार चलाउन (Working Capital) व्यवसायीले बैंकबाट थप कर्जा लिनुपर्ने बाध्यता सिर्जना हुन्छ। व्यवस्थित अभिलेख नहुँदा Non-moving, Damaged, र Outdated (म्याद नाघेका) सामानहरू गोदाममा थुप्रिएर बस्छन्। यी सामानहरू नाफा होइनन्, यी त ‘मृत पुँजी’ हुन् जसले गोदामको भाडा मात्र बढाउँदैनन्, कम्पनीको वासलात (Balance Sheet) लाई पनि कृत्रिम रूपमा फुलाएर भ्रम सिर्जना गर्छन्।

‘कागजी नाफा’ को भ्रम र नकारात्मक नगद प्रवाह: धेरै व्यवसायीहरू वर्षको अन्त्यमा नाफा र नोक्सान हिसाब (P&L Account) हेरेर खुसी हुन्छन्। तर, एउटा गम्भीर वित्तीय सत्य के हो भने “यदि व्यवसाय नाफामा देखिन्छ तर सञ्चालनबाट नगद प्रवाह (Cash Flow from Operations) नकारात्मक छ भने, त्यो नाफा कमाएको होइन, नाफाको हिसाब मात्र गरेको हो।” नेपाली बजारमा धेरै कम्पनीहरू ‘कागजी नाफा’ को पासोमा छन्। उधारो बिक्रीलाई लेखाको सिद्धान्त अनुसार नाफा त मानिन्छ, तर त्यो पैसा हातमा नआउन्जेल त्यसले न त कर्मचारीलाई तलब खुवाउन सक्छ, न भेन्डरलाई भुक्तानी दिन सक्छ। जब नाफा ‘स्टक’ र ‘उधारो’ मा कैद हुन्छ, तब व्यवसायको तरलता (Liquidity) समाप्त हुन्छ। यदि सञ्चालनबाट आएको नगदले व्यवसायको खर्च धान्न सक्दैन र सधैँ बैंककै कर्जामा निर्भर हुनुपर्छ भने, त्यो व्यवसाय प्राविधिक रूपमा धराशयी भइसकेको मान्नुपर्छ।

अदृश्य इन्जिन – लेखापाल (Accountants) को अवमूल्यन र वास्तविक यथार्थ: संस्थाको मेरुदण्ड मानिने लेखापालहरू नेपालमा सबैभन्दा बढी हेपिएका र कम मूल्याङ्कन गरिएका कर्मचारी हुन्। व्यवस्थापनले लेखांकनलाई ‘मूल्य सिर्जना’ गर्ने विभाग भन्दा पनि एउटा ‘लागत र सेवा केन्द्र’ को रूपमा मात्र हेर्ने गर्छ। त्यसैले लेखापाललाई प्राय: न्यूनतम सुविधा, एसी बिनाको क्याबिन र पुराना कम्प्युटरमा काम गराइन्छ। व्यवस्थापनको सोच “चलिरहे पुग्छ” भन्नेमा सीमित छ, जसले गर्दा कामको महत्व भए पनि व्यक्तिको सम्मान हुँदैन।

अझ रोचक त के छ भने, कार्यालयका सबै समस्या अन्ततः लेखापालकै टाउकोमा आइपुग्छन्। पानी सकियोस् वा प्रिन्टर बिग्रियोस्, कुरियर नपुगोस् वा किचेनको सामान सकियोस्; मालिकको पहिलो फोन लेखापाललाई नै जान्छ। लेखांकनसँग सम्बन्ध नै नभएका यी विविध जिम्मेवारीले उनीहरूको वास्तविक पेशागत योगदानलाई ओझेलमा पारेको छ। लेखापालको काम कहिल्यै सकिँदैन; महिना अन्त्य, वर्ष अन्त्य र अडिटको डेडलाइनले उनीहरूलाई सधैँ ओभरटाइममा खटाउँछ। तर शान्त बस्दा “काम के गर्छौ?” र ओभरटाइम बस्दा “किन ढिलो गर्छौ?” भन्ने दोहोरो मारमा उनीहरू पर्छन्।

सबैभन्दा बढी रिपोर्टिङ (म्यानेजमेन्ट, बैंक, अडिटर, सरकार) गर्ने तर निर्णय गर्ने अधिकार सबैभन्दा कम हुनु लेखापालको विडम्बना हो। यो निरन्तरको मानसिक दबाब र डेडलाइनको तनावले गर्दा भनिन्छ; १० वर्ष लेखामा काम गर्नेको आयु १५ वर्ष घट्छ। वास्तविकता के हो भने, प्रभावकारी लेखांकनले समस्या आउनै दिँदैन, तर जब समस्या हुँदैन, व्यवस्थापनले लेखापालको कामै देख्दैन। जब समस्या आउँछ, तब मात्र लेखापालको खोजी हुन्छ। वास्तवमा लेखापाल समस्या होइनन्, उनीहरू त संस्थाका वास्तविक समाधान हुन्।

व्यवस्थापन सूचना प्रणाली (MIS) – निर्णय प्रक्रियाको ‘डिजिटल मस्तिष्क’: MIS केवल रिपोर्टहरूको थुप्रो होइन; यो तथ्याङ्कलाई निर्णयमा बदल्ने प्रक्रिया हो। यसले हचुवाको भरमा गरिने निर्णयलाई ‘डाटा-ड्रिभन’ निर्णयमा रूपान्तरण गर्छ।

MIS बाट प्राप्त हुने रणनीतिक तथ्याङ्कहरू:

इन्भेन्टरी टर्नओभर रेसियो (Inventory Turnover Ratio): यसले तपाइँको सामान गोदाममा कति पटक ‘रोटेसन’ भइरहेको छ भन्ने देखाउँछ। यदि यो रेसियो कम छ भने, तपाइँको पुँजी गोदाममा धुलो खाएर बसेको छ।

इन्भेन्टरी एजिङ रिपोर्ट (Inventory Aging): यसले कुन सामान कति दिनदेखि गोदाममा थुप्रिएको छ र कुन ‘Non-moving’ वा ‘Outdated’ हुन लागेको छ भन्ने तथ्याङ्क दिन्छ। यसले गर्दा व्यवसायीले समयमै सामान डिस्काउन्टमा बेचेर भए पनि नगद निकाल्न सक्छन्।

डेब्टर्स एजिङ एनालिसिस (Debtors Aging): यसले कुन ग्राहकले कति समयदेखि पैसा तिरेको छैन र कुन सेल्सम्यानको असुली कमजोर छ भन्ने स्पष्ट पार्छ।

ग्रस मार्जिन एनालिसिस (Gross Margin Analysis): कुन उत्पादनले वास्तविक नाफा दिइरहेको छ र कुनले घाटा? तथ्याङ्कले के देखाउँछ भने धेरै व्यवसायीहरू ५% नाफा दिने सामान धेरै बेचिरहेका हुन्छन् र २५% नाफा दिने सामानमा ध्यान दिँदैनन् किनकि उनीहरूसँग यो तथ्याङ्क हुँदैन।

पारेटो सिद्धान्त (80/20 Rule) – व्यवसायको ‘रणनीतिक फिल्टर’: आधुनिक व्यवसाय व्यवस्थापनमा एउटा विश्वव्यापी सत्य छ, जसलाई ‘पारेटो सिद्धान्त’ वा 80/20 Rule भनिन्छ। यस सिद्धान्तले भन्छ तपाइँको ८० प्रतिशत नतिजा केवल २० प्रतिशत प्रयासबाट प्राप्त हुन्छ। नेपाली व्यवसायीहरू प्रायः सबै कुरामा बराबर ध्यान दिन खोज्दा मुख्य कुराहरू छुटाउँछन्। आफ्नो व्यवसायको स्वास्थ्य जाँच्न निम्न कुराहरूमा यो नियम लागू गरेर हेर्नुहोस्:

८०% उधारो र २०% Debtors: यो सबैभन्दा खतरनाक तथ्याङ्क हो। तपाइँको बजारमा फसेको कुल उधारोको ८० प्रतिशत हिस्सा केवल २० प्रतिशत ग्राहकको हातमा हुन्छ। यसको अर्थ, यदि ती २० प्रतिशत ग्राहक मध्ये एक-दुई जना मात्रै डुबे भने तपाइँको पूरै व्यवसाय कोल्याप्स हुन सक्छ। यसलाई ‘कन्सन्ट्रेशन रिस्क’ (Concentration Risk) भनिन्छ।

८०% बिक्री र २०% ग्राहक: तपाइँको कुल आम्दानीको ८० प्रतिशत हिस्सा केवल २० प्रतिशत ‘प्रमुख ग्राहक’ हरूबाट आउँछ। के तपाइँले ती २० प्रतिशतलाई विशेष प्राथमिकता दिनुभएको छ ? बाँकी ८० प्रतिशत ग्राहकले तपाइँको टिमको धेरै समय खान्छन् तर नाफा थोरै दिन्छन्।

८०% बिक्री र २०% स्टक (SKUs): गोदाममा रहेका २० प्रतिशत वस्तुहरूले तपाइँको कुल बिक्रीको ८० प्रतिशत हिस्सा ओगटेका हुन्छन्। बाँकी ८० प्रतिशत सामानहरू गोदाममा धुलो खाएर बसेका हुन सक्छन्, जसलाई हामी ‘Dead Stock’ भन्छौँ।

८०% कार्यसम्पादन र २०% कर्मचारी: तपाइँको संस्थाको ८० प्रतिशत उत्पादकत्व केवल २० प्रतिशत ‘स्टार कर्मचारी’ हरूले दिइरहेका हुन्छन्। बाँकी कर्मचारीहरू केवल प्रक्रियाको हिस्सा मात्र भइरहेका हुन सक्छन्।

यो नियम किन महत्त्वपूर्ण छ ? जब तपाइँ यो २० प्रतिशतलाई चिन्नुहुन्छ, तब तपाइँको ध्यान र पुँजीको सही सदुपयोग हुन्छ। MIS को प्रयोग गरेर यो ‘क्रिटिकल’ २० प्रतिशतलाई पहिचान गर्नु नै बुद्धिमानी व्यवसाय हो।

आन्तरिक लेखापरीक्षण (Internal Audit) – व्यवसायको ‘प्रतिरक्षा प्रणाली’: आधुनिक कर्पोरेट युगमा आन्तरिक लेखापरीक्षण (Internal Audit) केवल गल्ती खोज्ने वा ‘पुलिसिङ’ गर्ने प्रक्रिया नभई संस्थाको जीवन बचाउने एक मजबुत प्रतिरक्षा प्रणाली र रणनीतिक साझेदार हो। जब कुनै व्यवसाय ‘साहुजी मोडेल’ को घेराभन्दा माथि उठेर कर्पोरेट साम्राज्य बन्ने दिशामा अघि बढ्छ, त्यहाँ सञ्चालनगत जटिलताहरू थपिन्छन् र मालिकको प्रत्यक्ष निगरानी असम्भव हुन जान्छ। यस्तो अवस्थामा आन्तरिक अडिटले व्यवसायका विभिन्न ‘छिद्रहरू’ समयमै पहिचान गरी पुँजीको रक्तश्राव रोक्ने काम गर्छ। यसले कर्मचारीहरूमा एक प्रकारको मनोवैज्ञानिक नियन्त्रण कायम गरी आर्थिक हिनामिना र सम्पत्तिको दुरुपयोगलाई निरुत्साहित मात्र गर्दैन, बल्कि नेपालको कम्पनी ऐन, राष्ट्र बैंकका निर्देशनहरू र नेपाल लेखापरीक्षण मापदण्ड (NSA) को पूर्ण पालना सुनिश्चित गरी संस्थालाई कानुनी झमेलाबाट जोगाउँछ।

यसको मुख्य फाइदा भनेकै संस्थाको कार्यदक्षतामा गुणात्मक वृद्धि गर्नु हो; यसले ८०/२० नियमका आधारमा ती २० प्रतिशत प्रक्रियागत कमजोरीहरू पत्ता लगाउँछ जसले संस्थाको ८० प्रतिशत स्रोत र समय खेर फालिरहेका हुन्छन्। यदि व्यवस्थापन सूचना प्रणाली (MIS) व्यवसायको ‘डिजिटल मस्तिष्क’ हो भने, आन्तरिक अडिटले त्यो मस्तिष्कमा पुग्ने तथ्याङ्कहरू सही र यथार्थपरक छन् भनी प्रमाणीकरण गर्छ, जसले गर्दा नेतृत्वले ‘कागजी नाफा’ को भ्रममा नफसी वास्तविक तथ्याङ्कमा आधारित निर्णय लिन सक्छ। यसले गोदाममा थुप्रिएको मृत पुँजी (Non-moving stock) र राजस्व चुहावटका क्षेत्रहरू पहिचान गरी व्यवसायको नगद प्रवाहलाई चलायमान बनाउन मद्दत गर्छ। अन्ततः, आन्तरिक लेखापरीक्षणले व्यवसायलाई व्यक्तिमा आधारित हुनबाट जोगाई पूर्णतः प्रणालीमा आधारित बनाउँछ, जसले गर्दा संस्थापकको अनुपस्थितिमा पनि व्यवसायको ‘लिगेसी’ र दिगोपन पुस्तौँसम्म सुरक्षित रहन्छ।

वैधानिक अडिट (Statutory Audit) ‘पोस्टमार्टम’ जस्तै हो, जसले वर्ष सकिएपछि रिपोर्ट दिन्छ। तर आन्तरिक अडिट ‘प्रिभेन्टिभ केयर’ हो। विश्वस्तरीय कम्पनीहरूले आन्तरिक अडिटमा गर्ने खर्च उनीहरूको वैधानिक अडिट शुल्क भन्दा धेरै गुणा बढी हुन्छ। उनीहरूलाई थाहा छ कि अडिट शुल्कमा बचाएको १० रुपैयाँले पछि १००० रुपैयाँको प्रणालीगत क्षति वा कानुनी जरिवाना निम्त्याउन सक्छ।

मनोवैज्ञानिक पर्दाफास – परामर्शदाताले गर्दिहाल्छ नि : नेपाली बजारमा एउटा घातक प्रवृत्ति छ “मेरो त सब ठिक भइहाल्छ” भनेर ढुक्क भएर बस्ने र परामर्शदाता नियुक्त गरेपछि जादु हुन्छ भन्ने सोच्ने।

ऐना र अनुहार: CA फर्म वा परामर्शदाताले ऐना (Reporting) देखाउने मात्र हो, अनुहार सफा गर्ने (Implementation) काम मालिक र कर्मचारीकै हो।

प्रक्रियाको पालना: यदि कर्मचारीले “गाडी छुट्न लाग्यो, इन्ट्री पछि गरौँला” भन्छ र मालिकले त्यसलाई स्वीकृति दिन्छ भने, संसारको कुनै पनि शक्तिशाली सिस्टमले त्यो संस्थालाई बचाउन सक्दैन। यो सफ्टवेयर मात्र होइन, यो एक व्यवहार हो। जबसम्म मालिकले आफैँ नियम पालना गर्दैनन्, कर्मचारीले कहिल्यै गर्दैनन्।

लेखापालको सुस्तता – निर्णय प्रक्रियाको ‘ब्रेक’: नेपाली व्यवसायमा लेखापालको सुस्तता एउटा यस्तो अदृश्य ‘ब्रेक’ हो जसले पूरै संस्थाको निर्णय प्रक्रियालाई ‘कोमा’ मा पुर्‍याइदिन्छ। व्यापारमा एउटा उखान छ “बासी तथ्याङ्क बासी खाना जस्तै हो, जसले संस्थाको स्वास्थ्य बिगार्छ,” र जब सुस्त लेखापालले आजको स्टक वा नगद प्रवाहको रिपोर्ट १५ दिनपछि दिन्छ, तब त्यो तथ्याङ्कको कुनै रणनीतिक मूल्य रहँदैन। लेखापालले “एन्ट्री बाँकी छ” वा “हिसाब मिल्दैछ” भन्दै समय गुजार्दा मालिकले नयाँ खरिद वा लगानीका सुनौला अवसरहरू गुमाउनुपर्छ र बाध्य भएर तथ्यमा होइन, अन्दाजको भरमा ‘जुवा’ खेल्नुपर्ने हुन्छ। यस्तो अकर्मण्यताले गर्दा समयमा बिलिङ र उधारो असुलीको ताकेता (Debtors Follow-up) नहुँदा बजारमा पैसा फस्छ, जसले गर्दा भेन्डरलाई भुक्तानी दिन नसकी कम्पनीको साख (Goodwill) र आपूर्ति प्रणाली नै जाम हुन पुग्छ। अझ, नेपालको कडा कर प्रणालीमा सुस्त लेखापालले सधैँ ‘डेडलाइन’ को अन्तिम घण्टामा मात्र काम गर्नाले गल्ती हुने र भारी जरिवाना तिर्नुपर्ने जोखिम रहन्छ, जसले गर्दा व्यवस्थापन सधैँ नियामक निकायको ‘रेडार’ र मानसिक तनावमा रहनुपर्छ। बैंकले माग्ने स्टक वा अपरेटिङ रिपोर्टहरू दिन हप्तौँ लगाउँदा कम्पनीको ‘रेटिङ’ मात्र घट्दैन, कर्जा सुविधामा समेत ठूलो अवरोध सिर्जना हुन्छ। यसले गर्दा सेल्स र स्टोर जस्ता अन्य विभागहरूमा पनि जवाफदेहिताको अभाव भई कर्मचारीको मनोबल खस्कन्छ र अन्ततः मालिक आफैँ स-साना हिसाबमा अल्झिनुपर्दा व्यवसाय विस्तारको ‘ठूलो चित्र’ नै ओझेलमा पर्छ। त्यसैले, लेखापाल व्यवसायको ब्रेक होइन, ‘एक्सेलेटर’ हुनुपर्छ; किनकि यदि यो मुख्य इन्जिन नै सुस्त भयो भने, गाडी जतिसुकै महँगो र शक्तिशाली भए पनि आफ्नो गन्तव्यमा कहिल्यै समयमा पुग्न सक्दैन।

विरासत वा विनास—विकल्प तपाईंको हातमा: नेपालको आर्थिक जटिलता र विश्वव्यापी प्रतिस्पर्धाको यो कडा मोडमा अब अन्दाजको व्यापार धेरै दिन टिक्न सक्दैन। सेल्सम्यानको वकालत, स्टोरको लापरवाही, लेखापालको अवमूल्यन र पुँजीको अव्यवस्थापनले तपाईंको साम्राज्य कुनै पनि बेला ढल्न सक्छ। याद राख्नुहोस्, कुनै पनि व्यवसायको वास्तविक स्वास्थ्य त्यसको ‘कागजी नाफा’ मा होइन, बरु त्यसले आर्जन गर्ने ‘नगद प्रवाह’ (Cash Flow) को गतिशीलतामा लुकेको हुन्छ।

तपाईंले आज बचाउने १० रुपैयाँको ‘अडिट शुल्क’ वा सिस्टममा गर्ने १० रुपैयाँको ‘लगानी’ ले भोलि १००० रुपैयाँको प्रणालीगत क्षति वा व्यावसायिक असफलता रोक्न सक्छ। जब तपाईं साहुजीको साँगुरो घेरा तोडेर कर्पोरेट साम्राज्य बनाउने सपना देख्नुहुन्छ, तब आफ्नो व्यवसायलाई व्यक्ति-आधारित होइन, प्रणाली-आधारित बनाउन दृढ संकल्पित हुनुहोस्। याद राख्नुहोस्, मान्छे थाक्छ, मान्छेले धोका दिन सक्छ र मान्छेले गल्ती गर्न सक्छ, तर एउटा वैज्ञानिक ‘सिस्टम’ र त्यसबाट प्राप्त हुने तथ्यपरक तथ्याङ्कले कहिल्यै धोका दिँदैन। आजै निर्णय गर्नुहोस्; के तपाईं आफ्नो व्यवसायलाई ‘मृत्युको मुख’ तिर लैजाने पुरानो साहुजी मोडेललाई निरन्तरता दिन चाहनुहुन्छ, कि यसलाई एउटा जीवन्त र दिगो ‘कर्पोरेट साम्राज्य’ मा रूपान्तरण गर्न तयार हुनुहुन्छ? विकल्प तपाईंको हातमा छ, तर समयले कसैलाई पर्खने छैन। याद राख्नुहोस्, मान्छेले धोका दिन सक्छ तर एउटा वैज्ञानिक सिस्टम र त्यसबाट प्राप्त हुने तथ्यपरक तथ्याङ्कले कहिल्यै धोका दिँदैन।

लेखक बारे:

(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् जसलाई आर्थिक, कर प्रणाली, नीति–निर्माण र संस्थागत सुशासनमा गहिरो ज्ञान र अनुभव छ । व्यावसायिक जीवनसँगै, उहाँले राष्ट्रिय महत्वका विषय, सामाजिक चुनौती, तथा दीर्घकालीन विकासका मुद्दाहरूमा तथ्य–आधारित विश्लेषणात्मक लेखहरू लेख्ने गर्दै आउनुभएको छ । उहाँका लेखहरूमा स्पष्ट दृष्टिकोण, तथ्याङ्कको सशक्त प्रयोग, र समाधान–केन्द्रित दृष्टिकोण देखिन्छ, जसले पाठकलाई सोच्न, प्रश्न गर्न र सचेत हुन प्रेरित गर्दछ । सम्पर्कः catej.dixit@gmail.com)

प्रकाशित मितिः     ७ चैत्र २०८२, शनिबार २१:०२  |