५० करोड लगानीमा गुर्भाकोटमा औषधि उद्योग स्थापना


नेपालगन्ज । कर्णाली प्रदेशमा औषधि उत्पादनतर्फ ऐतिहासिक सुरुवात गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–१० घुमखहरेमा कर्णालीकै पहिलो औषधि उत्पादन उद्योग स्थापना भएको छ। चिनियाँ कम्पनी Yuyuan Biotechnology Pvt. Ltd. को करिब ५० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको हो।

उद्योगले स्थानीय स्तरमै पाइने चुथ्रो र गुजरगाना जस्ता कच्चा जडीबुटी प्रयोग गरी विभिन्न प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। उत्पादन भएका औषधि नेपाली बजारसँगै चीनसम्म निर्यात गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

हाल उद्योगको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सञ्चालनको प्रारम्भिक चरणमै दैनिक ५० जनासम्मलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ। अहिले उद्योगमा १५ जना नेपाली र ३ जना चिनियाँ कामदार कार्यरत रहेका छन्।

करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा जडीबुटी संकलन गरिरहेको छ। यसले स्थानीय किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्नुका साथै आयआर्जनको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले उद्योग स्थापना भएपछि कर्णालीमा औद्योगिक विकासको नयाँ ढोका खुलेको बताएका छन्। उनीहरूका अनुसार यसले रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण तथा प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कर्णाली प्रदेशमा पहिलोपटक सुरु भएको यस औषधि उद्योगले भविष्यमा थप लगानी भित्र्याउने र औद्योगिक वातावरण सुदृढ बनाउने संकेतसमेत दिएको छ।

प्रकाशित मितिः     ९ चैत्र २०८२, सोमबार ११:०८  |