मैले त कर तिर्नै पर्दैन ! अनि किन भर्ने आयविवरण ?


यही एउटा सोचले गर्दा हरेक वर्ष लाखौँ मानिसहरू आफ्नो आम्दानीको विवरण बुझाउन छुटाउँछन् वा भनौँ बुझाउँदैन। तर वास्तविकता के हो भने, कर नतिर्नु भन्दा विवरण (ITR) नबुझाउनु भविष्यका लागि महँगो पर्न सक्छ। व्यवसाय नभए पनि विभिन्न स्रोतबाट प्राप्त हुने आय प्रमाणित गर्न आय विवरण नै सबैभन्दा वैधानिक दस्तावेज हो।

सोच्नुहोस् त… तपाईं दिनरात मेहनत गर्नुहुन्छ, पैसा कमाउनुहुन्छ, बैंकमा कारोबार पनि हुन्छ। तर यदि तपाईंले Income Tax Return (ITR)/आय विवरण भर्नुभएको छैन भने, राज्यको प्रणालीमा तपाईंको कमाइको कुनै आधिकारिक प्रमाण नै रहँदैन। तपाईंको आय नदेखिए पनि तपाईंले गर्ने खर्चहरु कहीं न कहीं अभिलिखित हुन्छन्। र समस्याहरू यहीँबाट सुरु हुन्छन्:

१. बैंक कर्जामा अवरोध: आजको समयमा घर बनाउन, व्यापार बढाउन वा गाडी किन्न ऋण (Loan) चाहिन्छ। बैंकले सबैभन्दा पहिले तपाईंको पछिल्लो २-३ वर्षको ITR वा कर चुक्ता प्रमाणपत्र माग्छ। यदि यो छैन भने, बैंकको नजरमा तपाईंको आम्दानी “शून्य” बराबर हुन्छ। अहिलेको नेपाल राष्ट्र बैंकको नीति अनुसार एक पटक कर्जा लिदाँ मात्र आय को प्रमाण दिएर हुँदैन कर्जा अवधि भरि हरेक वर्ष आयको प्रमाण पेश गर्नुपर्छ।

२. भिसा र विदेश यात्रामा अड्चन: धेरै विकसित देशहरूको भिसा आवेदन दिँदा तपाईंको आर्थिक हैसियत हेरिन्छ। ITR नहुँदा तपाईंको आम्दानीको स्रोत अपारदर्शी देखिन्छ, जसले गर्दा भिसा रिजेक्ट हुने सम्भावना उच्च रहन्छ र “मेरो आम्दानी त छ तर प्रमाणित हुने कागजात नभएकोले भिसा रिजेक्ट भयो” भन्ने धेरै साथीहरू पाइन्छ।

३. राजस्व विभागको निगरानी: अहिले बैंक ट्रान्ज्याक्सन, जग्गा जमिनको कारोबार र ठूला लगानीहरू सबै डिजिटल प्रणालीमा जोडिएका छन्। यदि तपाईंको खातामा ठूलो कारोबार देखिन्छ तर आय विवरण (ITR) भरिएको छैन भने, कुनै पनि बेला विभागले तपाईंलाई स्पष्टीकरण सोध्न सक्छ। आय विवरण भविष्यमा कर विवाद वा सम्पत्ति शुद्धीकरण (Money Laundering) जस्ता गम्भीर कानूनी मुद्दाबाट जोगिन आधार पनि हो ।

४. भविष्यको फाइदा र रिफन्ड: कहिले काहिँ भुक्तानी दिने संस्थाले तपाईंको भुक्तानीमा TDS काटेका हुन्छन्। यदि तपाईंको वास्तविक कर दायित्व कम छ भने, त्यो बढी काटिएको पैसा फिर्ता (Refund) पाउन पनि ITR भर्नु अनिवार्य हुन्छ।
५. आयका प्रमुख स्रोतहरू:
क) तलब/ज्याला (सरकारी वा निजी वा वैदेशिक),
ख) घर जग्गा बहाल
ग) जग्गा वा शेयर बिक्रीबाट हुने पूँजीगत लाभ
घ) भत्ता, उपहार वा पुरस्कार
ङ) लगानी आय जस्तै ब्याज, लाभांश

जानी राखौँ: ITR केवल कर बुझाउने कागज मात्र होइन, यो तपाईंको कमाइको आधिकारिक परिचय पत्र हो। धेरैले सोच्छन “ट्याक्स लाग्ने जति कमाइ छैन, किन झन्झट गर्ने?” तर एक सचेत नागरिकले बुझ्नुपर्छ कि ITR भर्नु एउटा जिम्मेवार वित्तीय बानी हो।

आजको सानो लापरवाहीले भोलिका ठूला अवसरहरू नखोसोस् । त्यसैले, यदि तपाईंको आम्दानी छ भने आजै आफ्नो आयकर विवरण (ITR) भर्नुहोस् र आफ्नो वित्तीय भविष्य सुरक्षित गर्नुहोस्। किनकि ITR बोझ होइन, तपाईंको आर्थिक पहिचान हो।

लेखक बारे:

(लेखक चार्टर्ड एकाउन्टेन्ट हुन् जसलाई आर्थिक, कर प्रणाली, नीति–निर्माण र संस्थागत सुशासनमा गहिरो ज्ञान र अनुभव छ । व्यावसायिक जीवनसँगै, उहाँले राष्ट्रिय महत्वका विषय, सामाजिक चुनौती, तथा दीर्घकालीन विकासका मुद्दाहरूमा तथ्य–आधारित विश्लेषणात्मक लेखहरू लेख्ने गर्दै आउनुभएको छ । उहाँका लेखहरूमा स्पष्ट दृष्टिकोण, तथ्याङ्कको सशक्त प्रयोग, र समाधान–केन्द्रित दृष्टिकोण देखिन्छ, जसले पाठकलाई सोच्न, प्रश्न गर्न र सचेत हुन प्रेरित गर्दछ । सम्पर्कः catej.dixit@gmail.com)

प्रकाशित मितिः     २१ चैत्र २०८२, शनिबार १२:४१  |