प्रधानमन्त्री ‘बालेन’संग सांसद इस्तियाक राईकाे अनुरोध


 

बाँके । नेपालगन्जमा सामाजिक सद्भाव र भाईचारा बिगार्न खाेज्ने ‘तत्व’लाई पहिचान गरि निरुत्साहित गर्न बाँके-२ का सांसद एवं पूर्वमन्त्री इस्तियाक राईले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष लिखित माग गर्नुभएको छ ।

साेमवार प्रधानमन्त्रीसंगकाे भेटघाटमा सांसद राईले समाजको परस्पर सम्बन्धमा दरार ल्याउने र विभाजनलाई बढावा दिने दृश्य/अदृश्य तत्वहरू नेपालगन्जसहित सिंगो बाँके जिल्लामा नै सक्रिय रहेको भन्दै प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनु भयाे ।

‘ याे समस्या हाम्रा सामु ठूलो चुनौतीका रूपमा देखा परेको छ’ राईले भन्नु भएको छ,-‘ जिल्लामा अवस्थित विविधतायुक्त समाज परस्परमा वर्षौंदेखि भाईचारा, सद्भाव र एकतापूर्ण व्यवहार कायम राख्दै यहाँसम्म आइपुगेको हो।’

तर समाजको परस्पर सम्बन्धमा दरार ल्याउने र विभाजनलाई बढावा दिने दृश्य/अदृश्य तत्वहरू नेपालगन्जसहित सिंगो बाँके जिल्लामा नै सक्रिय रहेको भनाइ छ ।

राईले भन्नुभएको छ, शिक्षा, प्रविधि र भौतिक निर्माणका क्षेत्रमा जतिसुकै उपलब्धी हासिल गरेता पनि समाजमा सहिष्णुता, सद्भाव, भाईचारा र एकता छैन भने कुनै पनि प्रकारको उपलब्धीलाई सार्थक ठहर्‍याउन सकिँदैन।

यहाँका हरेक धर्म/सम्प्रदायबीच संस्कारयुक्त जीवनशैली र परस्परमा सम्मानयुक्त व्यवहार कायम गर्दै समाजलाई पुन: एकताबद्ध गर्नू अत्यावश्यक भएकाे राईकाे भनाइ छ ।

‘अन्यथा हाम्रा समाज आवरणमा दुरुस्तै देखिएपनि भित्रभित्रै कमजोर हुँदै जाने निश्चित छ।’ राईले स्पष्ट शब्दमा भन्नुभएको छ,-‘ त्यसैले हरेक विषय/घटनाहरूलाई धार्मिक रंग दिई समाजमा फाटो ल्याउन उद्दत तत्वहरूको पहिचान तथा उनीहरूको निरूत्साहनतर्फ पहलकदमी लिनुभई सामाजिक एकताका निम्ति प्रबर्द्धनात्मक कार्यक्रमहरू अघि बढाउनुहुन हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मितिः     २३ चैत्र २०८२, सोमबार २०:२९  |