हाेटल पाैवाकाे दशक यात्रा ! तीन दिन रैथाने स्वाद उत्सव


नेपालगन्ज । नेपालगन्जको होटल पौवा प्रा.लि. ले आफ्नो गौरवमय १० वर्ष पूरा गरेको छ । दशौँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ–२०८३’ मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई सार्वजनिक रूपमा आमन्त्रण गरेको छ ।

यही चैत्र २६, २७ र २८ गते (तीन दिन) सम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखामा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वादमार्फत ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम रहेको होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारी ले बताउनुभयो ।

पौवाले १० वर्षअघि चैत २५ गते स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार मानेर नेपाली हस्पिटालिटीको घोषणा गर्दै आफ्नो सेवा आरम्भ गरेको थियो ।

कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको छ । यही चैत ३० गते साँझ नेपालगन्जमा हुने ‘शुभकामना साँझ–२०८३’ मा ख्यातिप्राप्त आधुनिक गायक कमल खत्री र गायिका समिक्षा अधिकारी को प्रस्तुति रहने बताइएको छ ।

वार्षिक उत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौँ बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलन समेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।

नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश–विदेशमा ब्रान्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको पौवाले १०औँ वार्षिक उत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

पौवाले नेपाली मौलिक परम्परामा आधारित विभिन्न जाति, जनजातिका चाडपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । महाप्रबन्धक पाण्डेका अनुसार दशैँपछिको पूर्णिमाको सराय नाच, तिहारको देउसी–भैलो, माघीको खिचडी, महाशिवरात्रिमा शिव भजनजस्ता पर्वहरूमा ग्राहकहरूको उपस्थितिमा पौवाका शाखाहरूमा विशेष उत्सव हुने गरेको छ ।

प्रकाशित मितिः     २५ चैत्र २०८२, बुधबार ०६:४१  |