
नेपालगन्ज । निजामती कर्मचारीहरु दलगत ट्रेड युनियनमा लागेको भन्दै त्यस्ता दलगत ट्रेड युनियनहरुलाई खारेज गर्ने बालेन सरकारको घोषणा सार्वजनिक भएपछी निजामती प्रशासनमा यसले तरंग सृजना गरेको छ ।
यसैबीच निजामती सेवाको क्षेत्रमा क्रियाशील सबैभन्दा पुरानो संगठन नेपाल निजामती कर्मचारी संगठनको ३६ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल निजामती कर्मचारी संगठन – बाँकेका अध्यक्ष, देवीलाल चौलागाईंले पेशागत ट्रेड युनियनलाई दलगत रुपमा अर्थ्याइनु गलत भएको बताएका छन् । सामाजिक संजालमा उनले भनेका छन् “पेशागत ट्रेड युनियनलाई दलिय ट्रेड युनियनको रुपमा ब्याख्या गरिनु प्रथम दृष्टिमै गलत र पुर्वाग्रही भएकाले यसलाई तत्काल पुनर्विचार गर्न र सच्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।”
सरकारको नीति र कार्यक्रमलाई कार्यान्वयन गर्ने र सार्वजनिक सेवालाई जनतासम्म पुर्र्याउने काममा कर्मचारीहरु हिजो पनि लागेको र भोलिका दिनमा पनि लाग्ने बताउँदै उनले अगाडी भनेका छन् वर्तमान सरकारले ल्याएको शासकीय सुधारका अधिकांश विषय कर्मचारी संगठनले पहिल्यै देखि नै उठाउँदै आइरहेको तर लागु नगरिएको सन्दर्भमा वर्तमान सरकारले ति विषयहरु कार्यन्वयन गर्ने गरि आगाडी ल्याएको हुँदा संगठनले त्यसलाई स्वागत गरेको भनेका छन् । त्यसभन्दा एक कदम अघि बढेर “क्षेतीपुर्ती सहितको नागरिक सेवा” को माग संगठनले धेरै पहिले देखि उठाउँदै आइरहेको र त्यसको कानुनी प्रबन्ध गर्न पनि उनले सरकारलाई सुझाएका छन् ।
सार्वजनिक सेवा प्रवाहका साथै मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन र नागरिक अधिकारका लागि नागरिकका साथमा रहँदै २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाको संघर्ष होस् या २०६२/०६३ को संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा होस्, नेपाल निजामती कर्मचारी संगठनले खेलेको भुमिका इतिहासको पानामा सुरक्षित रहेको बताउँदै उनले जनआकांक्षा र जनचाहना बमोजिम आफुलाई समाहित गर्न, रुपान्तरित हुन र आम कर्मचारी संयन्त्रलाई सोही अनुसार परिचालित गर्न संगठन जहिले पनि अग्रसर रहँदै र नेतृत्वदायि भुमिका निर्वाह गर्दै आइरहेको पनि उनले स्पष्ट पारेका छन् ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने सन्दर्भमा कर्मचारी संगठनले कहिले पनि सम्झौता नगर्ने उल्लेख गर्दै उनले अगाडी भनेका छन् “प्रभावकारी र गुणस्तरीय सार्वजनिक सेवा प्रवाह संगठनको पहिलो प्राथमिकता भएको र त्यसलाई आत्मसात गर्दै “शिघ्र सेवा: तिव्र विकास” को नारा अघि सारेको बताउँदै कर्मचारी संगठनले सोहि अनुसार कर्मचारीहरुलाई प्रशिक्षित गर्ने काम समेत गरेको उनले दाबी गरेका छन् ।
उनले अगाडी भनेका छन् “कर्मचारीहरुले कानुन विपरित काम गरेको, राजनीतिमा लागेको वा गैर जिम्मेवारीपुर्वक कार्य सम्पादन गरेकोमा कारबाही गरिनुपर्ने तर कसैमाथि पनि पुर्वाग्रह र दुराग्रह राख्न नहुने” भन्दै ट्रेड युनियन प्रति सरकारको दृष्टिकोणमा त्यस्तो पुर्वाग्रह र दुराग्रहको गन्ध स्पष्ट देखिएकोले त्यसमा पुनर्विचार गर्न र सच्याउन चौलागाईंले माग गरेका छन् ।
ट्रेड युनियन खारेज गर्नुपर्ने कुनैपनी आधार र कारण नदेखिएको भन्दै पेशागत ट्रेड युनियनलाई दलिय ट्रेड युनियनको बिल्ला भिराउने काम सरकारले जबर्जस्त गरेको र निजामती सेवा ऎन/नियमावली विपरीत जबर्जस्त दलिय ट्रेड युनियनको संगिन आरोप लगाउनु दु:खद र खेदजनक भएको उनी बताउँदै अन्तमा उनले भनेका छन् संगठित हुन पाउने, संघ संगठन खोल्न पाउने र श्रम अभ्यास गर्न पाउने संवैधानिक तथा प्रचलित राष्ट्रिय / अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै यसमा तत्काल पुनर्विचार गर्न र श्रमिक अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्ष गराएका छन् l

