‘पाेखरा विश्वविद्यालयमा मेरा १६ महिना’-प्रा.डा. बेदराज केसी


हार्दिक धन्यवाद

मिति २०८१ साल पौष ७ गते पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भई करिब तीन दशक लामो प्राध्यापन अनुभवका आधारमा विश्वविद्यालयको साख र गरिमा कायम राख्दै विश्वव्यापी प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित इमान्दारीपूर्वक कार्य गरेको स्मरण गर्दछु ।

म विशुद्ध रूपमा विश्वविद्यालय निर्माण गर्ने स्पष्ट सोच, दृढ लक्ष्य र दीर्घदृष्टि बोकेर आएको व्यक्ति हुँ । प्राज्ञिक उन्नयन र गुणस्तरीय जनशक्ति उत्पादनमा पोखरा विश्वविद्यालयलाई अग्रणी बनाउने अभिप्रायसहित कार्यरत रहेको आत्मवाणी व्यक्त गर्न चाहन्छु ।

आजको दिनसम्म मैले विश्वविद्यालयमा १६ महिना बिताएको छु । यस अवधिमा हाम्रो टिमले गरेका काम, हासिल भएका उपलब्धि र अगाडि बढिरहेका पहलहरू यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु । यस अवधिमा विश्वविद्यालयले शैक्षिक, संस्थागत तथा पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ । शैक्षिक क्यालेण्डरअनुसार विद्यार्थी भर्ना, परीक्षा तथा नतिजा प्रकाशनलाई नियमित र समयबद्ध बनाइएको छ । दुईवटा दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा सफलतापूर्वक सम्पन्न भएका छन् । समयसापेक्ष तथा प्रविधिमैत्री नयाँ पाठ्यक्रम विकास गरी कार्यान्वयनमा ल्याउने कार्यलाई प्रभावकारी बनाइएको छ । लामो समयदेखि अपेक्षित काठमाडौँमा आंगिक क्याम्पस स्थापना गर्न सफल भएको छ । गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयासस्वरूप पछिल्लो ६ महिनामा तीनवटा कलेजले यूजिसिबाट क्यूएए मान्यता प्राप्त गरेका छन् ।

स्वास्थ्य सेवातर्फ विश्वविद्यालयअन्तर्गतको अस्पतालले समुदायले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न सफल भएको छ । अन्य अस्पतालहरूसँग सहकार्य गर्दै एमबिबिएस तथा एमडी कार्यक्रम सञ्चालनको प्रयास जारी रहेको छ । लुम्लेमा एग्रो इन्जिनियरिङ कार्यक्रम सञ्चालनका लागि नेपाल कृषि अनुसन्धान परिषद्सँग पहल गरिएको छ । रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा नेपालमै पहिलोपटक नेचुरोपेथी एण्ड योगिक साइन्स कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको छ भने लाहान अस्पतालमा बी–अप्टोमेट्री कार्यक्रम सुरु गर्ने कार्य अघि बढाइएको छ । इन्जिनियरिङ संकायअन्तर्गत पीएचडी कार्यक्रम सञ्चालनको प्रक्रिया पनि अगाडि बढाइएको छ ।

यस अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विश्वविद्यालयको अवस्था र भावी योजना प्रस्तुत गरिएको छ । पहिलोपटक अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यविधि निर्माण गरी विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्न थालिएको छ, र आगामी वर्ष करिब २०० अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने लक्ष्यसहित कार्य भइरहेको छ । दीर्घकालीन पूर्वाधार विकासका लागि उपयुक्त स्थानमा जग्गा प्राप्त गर्न सम्बन्धित निकायहरूसँग आवश्यक पहल गरिएको छ ।

विश्वविद्यालयको प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न पहलहरू गरिएका छन् । तालिम, पदोन्नति जस्ता प्रक्रियाहरूलाई संस्थागत गर्ने प्रयास गरिएको छ । विश्वविद्यालयअन्तर्गतको अस्पताललाई स्तरोन्नति गर्दै सर्वसुलभ स्वास्थ्य सेवा विस्तार गर्ने काम अगाडि बढाइएको छ । प्राज्ञिक उन्नयनतर्फ ध्यान केन्द्रित गर्दै अध्ययन–अनुसन्धानलाई व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको छवि सुदृढ बनाउने प्रयासहरू निरन्तर गरिएका छन् । समय छोटो भए पनि यस अवधिमा हासिल भएका उपलब्धिहरू सामूहिक प्रयास, समर्पण र सहकार्यकै परिणाम हुन् भन्ने विश्वासका साथ प्राप्त सहयोग, सल्लाह र सुझावप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । विश्वविद्यालयको हितलाई केन्द्रमा राखी कार्यसम्पादन गर्ने क्रममा कसैलाई कुनै असहजता भएको भए क्षमायाचना गर्दछु ।

अन्त्यमा, मलाई यो जिम्मेवारी वहन गर्ने अवसर प्रदान गरिएकोमा हार्दिक आभार व्यक्त गर्दै पोखरा विश्वविद्यालयको उज्ज्वल भविष्य, गुणस्तरीय शिक्षा र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रा.डा. बेदराज के.सी.

निर्वतमान उपकुलपति

पोखरा विश्वविद्यालय

२०८२ वैशाख २२ गते मगलबार

प्रकाशित मितिः     २३ बैशाख २०८३, बुधबार ०६:१८  |