गुर्भाकाेट युनाइटेड स्कुलमा ‘एनसिसी’ तालिम


 

नेपालगन्ज । नेपाली सेनाद्वारा न सञ्चालन गरिने १०० दिने एनसीसी (NCC) तालिम गुर्भाकोट नगरपालिका–१४ बोटचौरस्थित गुर्भाकाेट युनाइटेड पब्लिक सेकेन्डरी स्कूलमा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। तालिम शुभारम्भसँगै अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार कडा प्रतिस्पर्धा र विभिन्न मापदण्ड पूरा गरेपछि उक्त तालिम सञ्चालनका लागि विद्यालय छनोट भएको हो। विद्यालय परिवारले यसलाई सम्पूर्ण विद्यार्थी तथा अभिभावकका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

कार्यक्रममा नेपाल आर्मीको कालीबहादुर गण तथा छिन्चु गणका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिम सञ्चालनका लागि विद्यालयको अनुगमन, मूल्यांकन तथा अभिमुखीकरणमा सहयोग पुर्‍याएको भन्दै विद्यालयले नेपाल आर्मीप्रति आभार व्यक्त गरेको छ।

विद्यालयका तर्फबाट छिन्चु गणका मेजर तथा निरन्तर समन्वय र सहयोग गर्ने केशव खत्रीप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। साथै तालिमका लागि छनोट भएका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिइएको छ।

विद्यालयले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम तथा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मितिः     २६ जेष्ठ २०८३, मंगलवार १८:३४  |