क्रिस्टिलोले ल्यायो आफ्नै आधिकारिक जार


 

नेपालगञ्ज । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको क्रिस्टिलो वाटर इन्डस्ट्री प्राइभेट लिमिटेडले आफ्नै कम्पनीद्वारा उत्पादन गरिएका नयाँ तथा आधिकारिक जारमार्फत मात्र उपभोक्तालाई पिउने पानी उपलब्ध गराउन थालेको छ।

कम्पनीले बजारमा प्रयोग भइरहेका आफ्ना पुराना जारहरू क्रमशः फिर्ता लिँदै त्यसको स्थानमा नयाँ आधिकारिक जार उपलब्ध गराउन थालेको जनाएको छ। नयाँ जारमा क्रिस्टिलो कम्पनीकै आधिकारिक ढक्कन प्रयोग हुने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार यसले जारको पहिचान स्पष्ट हुनुका साथै पानीको आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो सुविधा क्रिस्टिलोसँग नियमित कारोबार गरिरहेका उपभोक्तालाई मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ। नियमित रूपमा क्रिस्टिलोको पानी प्रयोग गर्दै आएका ग्राहकका पुराना जार कम्पनीले फिर्ता लिएर त्यसको बदलामा नयाँ आधिकारिक जार उपलब्ध गराउने व्यवस्था गरिएको छ।

क्रिस्टिलोका अनुसार पिउने पानी उत्पादनका क्रममा पानीको प्रशोधन र शुद्धीकरणका लागि विभिन्न प्रविधि तथा उपकरण प्रयोग हुँदै आएका छन्। आरओलगायतका प्रशोधन प्रणालीमार्फत पानी प्रशोधन गरेपछि त्यसको गुणस्तर कायम गरिन्छ। तर प्रशोधनपछि उपभोक्तासम्म पानी पुर्‍याउने माध्यम अर्थात् जारको भौतिक अवस्था र स्वच्छता पनि उत्तिकै महत्वपूर्ण हुने कम्पनीको भनाइ छ।

कम्पनीका सञ्चालक शरद प्रसाद रिजालले पानीको गुणस्तरमा मात्र ध्यान दिएर नपुग्ने भएकाले उपभोक्तासम्म पानी पुर्‍याउने जार पनि गुणस्तरीय र व्यवस्थित हुनुपर्ने आवश्यकता महसुस गरी नयाँ जारको व्यवस्था गरिएको बताए।

उनका अनुसार विगतमा बजारमा विभिन्न कम्पनीका जारहरू एकअर्कासँग प्रयोग तथा साटफेर हुने अवस्था थियो। एउटै जार विभिन्न कम्पनीमार्फत प्रयोग हुने भएकाले कम्पनीले आफ्नो पानीको गुणस्तर कायम गर्न प्रयास गरे पनि जारको भौतिक अवस्था र प्रयोगको अवस्थाका कारण सेवाको गुणस्तरमा प्रश्न उठ्न सक्ने अवस्था थियो।

“पानीको गुणस्तर हामीले निरन्तर कायम गर्दै आएका छौँ। तर पानी राखेर उपभोक्तासम्म पुर्‍याउने जारको भौतिक अवस्था पनि गुणस्तरीय हुनुपर्छ भन्ने महसुस भयो। त्यसैले पुराना जारहरूलाई क्रमशः प्रतिस्थापन गरी कम्पनीकै आधिकारिक तथा अनुकूलित नयाँ जारमार्फत मात्र पानी उपलब्ध गराउने व्यवस्था गरेका हौँ,” रिजालले भने।

कम्पनीका अनुसार नयाँ व्यवस्थापछि क्रिस्टिलोका नियमित उपभोक्ताले गुणस्तरीय पानीसँगै व्यवस्थित र कम्पनीको पहिचानसहितको जार प्रयोग गर्न पाउनेछन्। यसले उपभोक्ताको विश्वास थप मजबुत बनाउने र पिउने पानीको समग्र गुणस्तर कायम राख्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

क्रिस्टिलोले हाल आफ्ना नियमित ग्राहकबाट पुराना जार फिर्ता लिने र नयाँ आधिकारिक जार उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। कम्पनीले नियमित रूपमा क्रिस्टिलोको पानी प्रयोग गर्ने ग्राहकलाई नयाँ व्यवस्थामा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित मितिः     २१ भाद्र २०८३, आईतवार २०:२८  |