प्लाईको कच्चा पदार्थमा भारतकै भर


बाँके : प्लाई उत्पादनका क्षेत्रमा ख्याती कमाएको नेपालगन्जको प्लाईउड उद्योगको अधिकांस कच्चा पदार्थ भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । प्लाई उत्पादनका लागि आवश्यक पर्ने ८० प्रतिशत कच्चा पदार्थ भारतमै निर्भर हुनुपर्छ । त्यसका लागि आवश्यक पर्ने काठ आयातमै लाखौं रुपैया बिदेशिएको उद्योगीहरुको भनाई छ ।
नेपाल प्लाईउड उत्पादक संघका पूर्व अध्यक्ष चम्पालाल बोथराले प्लाई उत्पादनको ८० प्रतिशत काठ भारतबाटै निर्यात हुने गरेको बताए । बाँकी २० प्रतिशत कच्चा पदार्थ जो केमिकल हो त्यो तेस्रो देशबाट आयात गरिन्छ । प्लाईमा प्रशिद्ध ब्राण्ड शिखर प्लाईका सन्चालक समेत रहेका बोथराले स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्ने हो भने त्यसका लागि बाहिरिने रकम स्वदेशमै रहने बताए ।
नेपालगन्ज प्लाई उद्योगको हब नै बनेको छ । यहाँ उत्पादन भएका प्लाईले देशभर राम्रै मार्केट लिएका छन् । पूर्वी नेपालमा समेत यहाँको उत्पादन बिक्री भइरहेको छ । नेपालगन्जमा शिखर, ओम प्लाई फर्निचर जस्ता उद्योगका बिभिन्न ब्राण्डका प्लाई उत्पादन हुन्छन् । प्लाई उद्योगमा करोडौको लगानी छ । त्यसले संयौलाई रोजगारी दिएको छ । कच्चा पदार्थ स्वदेशमै उत्पादन भई यहाँ उत्पादित प्लाई भारतमा बिक्री गर्न सके रोजगारी बृद्धि हुने अपेक्षा गरिएको छ ।
ओम प्लाई उद्योगका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्रले बृक्षारोपणका लागि हुने नीतिगत समस्या समाधानक लागि राज्यले सहज बनाईदिनुपर्ने बताए । प्लाई उद्योग आफैले अहिले प्लाईका लागि आवश्यक पर्ने रुखहरु लगाइरहेका छन् । शिखरले त दुईलाख भन्दा बढि बिरुवा रोपेको छ भने कृषकहरुलाई देशभर रुख रोप्न प्रेरित गरिरहेको छ । शिखरका सन्चालक बोथराले भने,‘रुख रोप्दा प्लाई उद्योगलाई कच्चा पदार्थ मिल्छ भने कृषकलाई परम्परागत बाली भन्दा राम्रो आम्दानी हुन्छ । प्लाईको कच्चा पदार्थ स्वदेशमै पाएर बिदेश निर्यात गर्न सकियो भने देशको आर्थिक विकास सहयोग पुग्छ ।’

प्रकाशित मितिः     ६ मंसिर २०७५, बिहीबार ०८:१०  |