बाँके : बाँके जिल्लामा साना तथा घरेलु उद्योग सन्चालनमा आर्कषण देखिएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लामा ७ सय ८९ वटा उद्योग दर्ता भएका छन् । रु २ लाख देखि ५ करोड कुल पुँजीभएका उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जकी निमित्त प्रमुख दुर्गा ओलीले जानकारी दिईन ।
‘लगानीको सम्भावना धेरे बढेको छ । जिल्लामा साना तथा घरेलु उद्योगको दर्ताले पनि यो कुराको पुष्टि गर्छ ।’— निमित्त प्रमुख ओलीले भनिन,—‘दश करोडसम्मको स्थीर पुँजी भएको उद्योग खोल्नका लागि अब घरेलु तथा साना उद्योग कार्यालयमै दर्ता गरे पुग्ने नीति आएकाले अझ उद्योग दर्ता बढ्ने देखिन्छ ।’ यसअघि कुल पुँजी ५ करोड भन्दा माथिका उद्योग खोल्नका लागि काठमाण्डौं बिभागनै धाउनुपर्ने बाध्यता थियो । बाँके जिल्लामा हालसम्म ५ हजार ३ सय ६२ उद्योग दर्ता छन् । दर्ता सबै उद्योग सन्चालनमा भने छैनन् । कति बन्द छन् भने कति सन्चालन भइरहेका छन् ।
घरेलु तथा साना उद्योग व्यवसायी महासंघ बाँकेका पूर्व अध्यक्ष जीवनाथ सापकोटाले बिगतमा उद्योगहरु धरासायी भएको र अहिले सुधार हुने क्रममा रहेको बताएका छन् । ‘देशमा राजनीतिक स्थिरता भएपछि त्यसको प्रभाव घरेलु उद्योग क्षेत्रमा पनि परेको छ ।’ पछिल्लो समय महिला उद्यमीको संखया बढ्दै गएकोमा व्यवसायी खुसी छन् । तर सरकारबाट तर्फबाट घरेलु तथा साना उद्योगको संरक्षण गर्न नसकेको कारण लगानी धराशायी हुने खतरासमेत बढेर गएको चिन्ता व्यक्त गरेका छन् । घरेलु तथा साना उद्योग महासंघ बा“केका अध्यक्ष अशोक बिष्टले खुला सिमानाको कारण सीमापारीको बजारबाट अनाधिकृत रुपमा भित्रिने विभिन्न सामानहरुको कारण नेपाली उद्योग सुक्दै गएको, लगानी सुरक्षित नभएको जस्ता गुनासाहरु सहभागि उद्योगीहरुबाट आएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ पुर्व बांकेका अध्यक्ष इन्द्रबहादर थापाले भने–‘यद्यपी सरकारले यो क्षेत्रलाई बलियो बनाउन खासै चासो दिएको छैन् ।’ महासंघ बा“के अध्यक्ष बिष्टले बांकेका घरेलु तथा साना उद्योगले उर्जा,सुरक्षा, राजनीतिक अस्थिरता र बजारीकरणको समस्या झेलिरहेको बताए । उनले भने–‘भारतसंग सीमा जोडिएको जिल्ला भएका कारण हाम्रो उत्पादनले अन्य उत्पादनसंग प्रतिस्पर्धा गर्न सकेको छैन् । उर्र्जा र सुरक्षा र चन्दा आतंक जस्ता समस्याले हामी मार परेका छौं ।’