ब्याजदर बढाउने बैंकलाई राष्ट्र बैंकले सचेत गरायो


बाँके : व्यक्तिगत मुद्दती खातामा ठूला बैंकहरु नै १३ प्रतिशत व्याजदर दिने प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि कुमारी र सेन्चुरी कमर्सियल बैंकले १३ प्रतिशत दिँदै आएकोमा नविल र हिमालयन बैंकले पनि सोही दरको व्याजदर दिने सूचना सार्वजनिक गरेका हुन्।  केही बैंकले १३ प्रतिशत दिन थालेपछि भएको निक्षेप पनि जोगाउन नसक्ने अवस्था आएको भन्दै यी बैंकहरुले व्याजदर बढाएका हुन्। यी बैंकले व्याजदर बढाएसँगै अन्यलाई समेत दवाव पुगेको छ।

भएको बचत रकम यी बैंकमा मुद्दतीका रुपमा जाने र व्याजदर नबढाउँदा अन्य बैंकलाई समस्या झनै थपिन सक्छ।  बैंकर्स संघले व्यक्तिगत मुद्दतीमा लगाएको १० प्रतिशत व्याजदरको सीमा हटाएपछि बैंकहरुबीच १२, साढे १२ हुँदै १३ प्रतिशत व्याजदर दिने होडबाजी सुरु भएको हो।  जनता बैंकले १२ तथा माछापुच्छ्रेले साढे १२ प्रतिशत व्याज दिँदै आएका छन्।

राष्ट्र बैंकले भन्योः पर्ख
नेपाल राष्ट्र बैंकले अहिले व्याजदर नबढाउन आग्रह गरेको छ। बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र वित्त कम्पनी संघका अध्यक्षलाई बोलाएर नियमन विभाग तथा सुपरिवेक्षण विभागले केही दिन व्याजदर  परिवर्तनमा पर्खन आग्रह गरेको हो।  मुद्रा तथा पुँजी बजार समस्या समाधानका लागि गठित समितिले केही दिनमै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाउने र सो प्रतिवेदनले व्याजदर नियन्त्रणका लागि हस्तक्षेप गर्ने जनाउँदै राष्ट्र बैंकले अहिले व्याजदर बढाउनेलाई ठूलो चुनौति थपिने चेतावनी दिएको छ।


कर्जामा जाने व्याजदरको अधिकतम सीमा तोकिने  र अहिले बढेको व्याजदरले बैंकलाई नै समस्या पर्न सक्ने भन्दै राष्ट्र बैंकले सजग गराएको छ।  सो अवसरमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आफूले व्याज नबढाउन सुझाव दिँदा दिँदै पनि बढाएको भन्दै आपत्ति जनाए। त्यस्तै डेभलपमेण्ट बैंकर्स संघका अध्यक्ष गोविन्दप्रसाद ढकाल र वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले वाणिज्य बैंकहरुका कारण  आफूहरुलाई समेत चुनौति थपिएको बताए।

बैंकिंग खबरबाटसाभार

प्रकाशित मितिः     ३ पुष २०७५, मंगलवार १८:२६  |
error: Content is protected !!