बाँके : महिलाहरुलाई उद्यमक्षेत्रमा सफलता पाउनका लागि पित्तसत्तात्मक सोंच अझै बाधकका रुपमा रहेको महिला उद्यमीहरुले गुनासो गरका छन् । शुक्रबार नेपालगन्जको स्नेह होटलमा शुरु भएको महिला उद्यमी महासंघको १५ औं वार्षिक साधारणसभामा बोल्ने अगुवा महिला उद्यमीहरुले महिलाहरु घरपरिवारदेखि समाजसम्म जुधेर उद्यमक्षेत्रमा लाग्नुपरेको बताए ।
उद्यम क्षेत्रमा सक्रिय हुन महिला उत्साहित छन् । तर समाजको पुरातनबादी सोंचले हामीलाई चुनौती दिइरहेको छ । उद्योग सुरु गर्नेदेखि आफुले उत्पादन गरेका सामाग्री बजारमा बिक्री गर्नेबेलासम्म दुःख झेल्नुपरेको छ ।’— महिला उद्यमी महासंघकी अध्यक्ष शारदा सुबेदीले भनिन । राज्यको नीतिसमेत महिलालाई उद्यमक्षेत्रका क्रियाशिल बनाउने खालको हुन नसकेको उनको तर्क छ ।
शिक्षा, शसक्तिकरण, समाजिक पछौटेपन, सम्पत्तिमा अधिकार नहुनु जस्ता कारणले महिलाहरु व्यवसायमा सक्रिय हुन नसकेको अन्य महिला अगुवाहरुले बताए । नेपालगन्जमा पहिलो पटक महिला उद्यमी महासंघको साधारणसभा भएको हो । तीनदेखि देखि महिला उद्यमीहरु उद्यमक्षेत्रमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा छलफलमा थिए ।
नेपालगन्ज उद्योग वाणिज्य महासंघको पूर्व उपमहासचिव रचना श्रेष्ठले नेपालगन्जमा पहिलो पटक भएको महिला उद्यमीहरुको साधारणसभाले यहाँका महिला उद्यमीहरुमा उत्साह थपेको बताईन । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतको सहभागिता छ ।