बहसमा आर्थिक राजधानी : ठोस योजना सहित केन्द्रलाई दबाब दिन जोड


बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको भोली शनिबार ३० औं साधारणसभाको उद्घाटन गर्न आउन लागेका अर्थमन्त्री डा युवराज खतिवडालाई ज्ञापनत्र बुझाउनका लागि शुक्रबार बृहद छलफल गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक बहस कार्यक्रम नै आयोजना गरी अर्थमन्त्रीसंग राख्नुपर्ने बिषयमा छलफल गरेका छन् ।
छलफलका क्रममा नेपालगन्जलाई आर्थिक हब बनाउनेदेखि बैंकको अस्थिर ब्याजदर, सिमावर्ती भारतीय भन्सारका समस्या, जडिबुटीको समस्याका बिषयमा व्यवसायीहरुले अर्थमन्त्रीसंग कुरा राख्न आग्रह गरेका छन् । साथै प्रदेश ५ को बनावटी प्रति असन्तुष्ट बाँकेलाई आर्थिक हबका रुपमा विकास गर्नका लागि लागि सरकारले सहयोग गर्नुपर्ने नेपालगन्जका उद्योगी, व्यवसायीहरुले जोड दिएका छन् । अर्थमन्त्री युवराज खतिवडा नेपालगन्ज आउनुपूर्वसन्ध्यामा नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको आर्थिक बहस सम्बन्धी कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले नेपालगन्जलाई आर्थिक हब बनाउने बिषय चुनौतीपूर्ण तर सम्भावनायुक्त रहेको बताए ।
उपप्राध्यापक अशोक बस्नेतले नेपालगन्जलाई आर्थिक हब बनाउने बहस सुरु हुनु सकारात्मक भएको बताउँदै तर त्यसका लागि यथार्थहरुलाई अध्ययन गर्न जरुरी रहेको बताए । प्रदेश ५ को अस्थायी राजधानी भएको रुपन्देहीमा देशकै सबैभन्दा बढि उद्योग दर्ता भएको अवस्थामा नेपालगन्जलाई राज्य संयन्त्रले कसरी आर्थिक हबका रुपमा प्रोत्साहित गर्छ भन्ने बिषय सोच्नुपर्ने अवस्था रहेको बस्नेतले बताए । राजनीतिक नेतृत्वले भाषण गरेर मात्र नहुने भन्दै बस्नेतले यथार्थ धरातलाई बिर्सिन नहुने उल्लेख गरे । आर्थिक विकासका लागि पूर्वाधार चाहिने तर रुपन्देही र धनगडीमा त्यस्ता पूर्वाधार बनिरहेको कुरालाई नेपालगन्जले नजिकबाट नियाल्नुपर्ने पनि बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष कपिल अधिकारीले जिल्लाका सबै राजनीतिक शक्तिले एकमत भई अघि बढ्े मात्र नेपालगन्ज आर्थिक हबका रुपमा विकास हुने बताए । राजनीतिक इच्छाशक्ति बिना कुनै कुरा हुन नसक्ने उनले उल्लेख गरे । अधिबक्ता बिश्वजित तिवारीले नेपालगन्जलाई आर्थिक हबका रुपमा समेत बिकास नगरे नेपालगन्जले ६ नम्बर प्रदेशमा जाने आन्दोलन गर्ने बताएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले राजनीतिक नेतृत्वले बारम्बार नेपालगन्जलाई ठगेको भन्दै अब भने ठग्न नहुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई लगायतले उद्योग, व्यवसायको प्रशस्त सम्भावना भएको नेपालगन्जलाई आर्थिक हब बनाउने खालको नीति बनाउने बिषयमा सरकारलाई दबाब दिनुपर्ने बताए ।

प्रकाशित मितिः     ६ पुष २०७५, शुक्रबार १८:२५  |