अर्थमन्त्री खतिवडाद्धारा आन्तरिक राजश्व कार्यालयको भवन उद्घाटन



बाँके :  संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले शनिबार बिहान आन्तरिक राजश्व कार्यालय नेपालगन्जको भवन उद्घाटन गरेका छन् । चार करोड ४८ लाखको लागतमा निर्मित चार तले उक्त भवनको उद्घाटन संगै सेवा समेत सुरु भएको छ ।
भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले कतरदातालाई अपराधी जस्तो व्यवहार गर्ने मनसाय सरकारको नरहेको भन्दै उद्योगी, व्यवसायीहरुलाई निर्भिक भएर काम गर्न आग्रह गरे । राज्यले करदातालाई सम्मानजनक व्यवहार गर्नुपर्ने र करदाताले पनि आफ्नो नागरिक दायित्वलाई बहन गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए । राजश्वको प्रमुख स्रोत भन्सारलाई व्यवस्थित गरिने भन्दै अर्थमन्त्री खतिवडाले भन्सार व्यवस्थापन मात्र गर्ने हो भने राजश्व र भन्सारसंग जोडिएका धेरै बिषय समाधान हुने उल्लेख गरे ।


भवन उद्घाटनमा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले निर्भिक भएर उद्योग, व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरेका थिए । उनले बैंकको अस्थिर ब्याजदरले व्यवसायीलाई मर्कामा पारेको भन्दै त्यसको समाधान गर्न माग गरे । २०७१ सालबाट निर्माण सुरु भएको भवन निर्माणपछि सेवाग्राहीलाई सहज हुने आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले बताए । भवन उद्घाटन कार्यक्रममा संघीय सांसदका सदस्य महेश्वरराज गहतराज, आन्तरिक राजश्व बिभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको सहभागिता थियो ।

अर्थमन्त्री खतिवडालाई राँझाबिमानस्थलमा स्वागत गर्दै संघीय संसदका सदस्य महेश्वर गहतराज अथक । तस्बिर : शिव सुनार ।
प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार १२:२६  |
error: Content is protected !!