अर्थमन्त्रीले भने,—‘नेपालगन्ज निरास हुनुपर्ने अवस्था छैन’


अर्थमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य ।

बाँके : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालगन्जलाई आफुले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासका पछि पर्न नदिने बताएका छन् । अर्थमन्त्री खतिवडाले २०३५ सालमा पहिलो पटक नेपालगन्ज आएको र त्यसपछि बिभिन्न ओहदामा रहंदा यहाँको विकासका लागि काम गरेको बताए ।
‘चालिस वर्षको अवधीमा नेपालगन्जले निकै ठुलो फड्को मारेको छ । तपाईहरु केही भएन भनेर निरास नहुनुहोस् । तर अझै जे जति गर्नुपर्ने हो त्यसका लागि म सकारात्मक छु ।’— मन्त्री खतिवडाले भने । नेपालगन्जको विकासका बिषयमा केन्द्र सरकारले फरक व्यवहार गर्न नसक्ने भन्दै निरास नहुन आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार नेपालगन्जमा भएको २७ औं साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले क्रमिकरुपमा नेपालगन्जको आर्थिक विकास हुँदै जाने र त्यसका लागि आफ्नो ध्यानार्कषण भएको बताए ।
सधारणसभामा बोल्ने उद्योगी, व्यवसायीहरुले संघीयता कार्यान्वयनसंगै नेपालगन्ज पछि परेको गुनासो गरेपछि अर्थमन्त्री खतिवडाले आश्वस्त पार्न खोजेका थिए । उनले आफु चालिस वर्ष अगाडी नेपालगन्ज आएको र यसअवधिमा नेपालगन्जको औसत विकास गरेको बताए । उनले नेपालगन्जको विकास सन्तोषजनक रहेको र थप विकासका लागि केन्द् सरकारले चासो दिने पनि बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पछिलो समय नेपालगन्ज आर्थिक हकका रुपमा रुपान्तरण हुँदै गएको भन्दै त्यसको प्रोत्साहन गर्न राज्य लाग्नुपर्ने बताईन । उनले आफु नेपालगन्जकै भएकाले भारत उत्तरप्रदेशका मुख्यमन्त्रीसंग केही समयपछि हुने भेटघाटमा यहाँका विकास र भन्सारसंग जोडिएका मुद्दाका बिषयमा बोल्ने बताए ।
संघीय संसदका सांसद महेश्वर गहतराज अथकले साविकको मध्य तथा सदुररपश्चिम क्षेत्रको केन्द्र नेपालगन्जले एक्लो महसुस गरिरहेको भएपनि अब भने समृद्धिका लागि अगाडी बढ्ने बताए । त्यसका लागि आफुले आवाज उठाउने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द््रीय सदस्य अच्यूतराज प्रसाईले राज्यको हेपाह दृृष्टिकोणका कारण नेपालगन्जबाट उद्योग पलायन हुने अवस्थामा पुगेको भन्दे आक्रोस व्यक्त गरे । इलेक्ट्रोनिक्स एशोसियन नेपालगन्जका अध्यक्ष चिरिन्जीवी ओलीले व्यवसायीहरु त्रासमा काम गरिरहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेको विकासका लागि अर्थमन्त्रीलाई ध्यानार्कषण गराउँदै ज्ञापनपत्र बुझाएको अध्यक्ष नन्दलाल बैश्यले बताए । ज्ञापनपत्रमा नेपालगन्जलाई आर्थिक राजधानी बनाउने लगायतका बिषय समेटिएको छ । साधारणसभामा महासचिव अजय टण्डनले सांगठनिक प्रतिबेदन पेश गरेका छन् । साधारणसभामा उद्योगी, व्यवसायी तथा पत्रकारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः     ७ पुष २०७५, शनिबार १६:३८  |