‘लकर सेवा’ : किन र कसरी लिने ?


सुष्मा थापा \हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् । घरजग्गा तथा सेयरसम्बन्धी कागजपत्र, सुनचाँदी जस्ता कुराहरुको सुरक्षाको चिन्ताले हामीलाई सँधै सताइरहन्छ । यस्ता वस्तु घरमा राख्दा चोरी हुने डर हुन्छ । सर्वसाधारणको यसै आवश्यकतालाई महशूस गरी बैंकहरुले लकर सुविधा प्रदान गर्ने गरेका
छन् । बैंकहरुले आफ्ना ग्राहकका महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरुको सुरक्षाको जिम्मा आफूले लिने र त्यसवापत निश्चित शूल्क लिने गरेका छन् । 

कसरी लिने लकर सेवा ?
आफ्नो चल्ती वा बचत खाता भएको बैंकमा हामीले लकर सेवा लिन सक्छौँ । बैंकको नियमअनुसार न्यूनतम बचत गरेपछि बैंकले एउटा फारम भर्न दिन्छ । हामीले सो फारम सही तरिकाले भर्नुपर्छ । उक्त फारम बुझाउँदा जसको नामबाट लकर सेवा लिन लागेको हो, उसको नागरिकता वा पासपोर्ट पनि चाहिन्छ । बैंकले फोटो पनि माग्छ । बैंकको नियमअनुसार दुई वटा तीन प्रति फोटो लैजानुपर्छ । यति गरेपछि तपाईँले बैंकबाट लकर सेवा पाउनुहुन्छ । यसरी लकर सेवा लिइसकेपछि वार्षिक रकम बैंकको नियमअनुसार समयमा नै भुक्तान गर्नुपर्छ ।

बैंकहरुमा विभिन्न साइजका लकरहरु हुन्छन् । लकरको साइजअनुसार बैंकले तोकेअनुसारको फिक्स्ड डिपोजिट आप्mनो खातामा राख्नुपर्छ । खातामा राखिएको न्यूनतम मौज्दात रकम लकर बन्द गरेपछि फिर्ता पाइन्छ । त्यसपछि पनि लकरको साइजअनुसार तोकिएको वाषिर्क शुल्क समय समयमा नियमित रूपमा बुझाउनुपर्छ । कुनै बेला आफूलाई लकर सुविधाको आवश्यकता नभएको महसुस भए त्यसलाई सजिलै बन्द गर्न सकिन्छ । लकरमा आफ्नो सामान राखेपछि त्यसलाई अफिस समयमा कुनै पनि बेला प्रयोग गर्न सकिन्छ । लकर खोल्न दुईवटा साँचोहरु हुन्छन् । एउटा बैंकमा हुन्छ भने अर्को लकर खोल्ने व्यक्तिसँग रहन्छ । लकर खोल्न दुईवटै साँचो एकैसाथ आवश्यक हुन्छन् । बैंकको नियमअनुसार आफूले चाहेका एक अथवा दुई जना व्यक्तिले उक्त लकर प्रयोग गर्न सक्छन् । यसका लागि बैंकले भेरिफिकेसन कार्ड दिएको हुन्छ । तर पनि लकरमा सामान राख्दा तथा निकाल्दा सावधान रहनुपर्छ । लकर खोल्दा आफ्नो कुनै सामान खस्यो कि भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । लकरको सुरक्षाका लागि बैंकले उच्च सतर्कता अपनाएको हुन्छ ।

लकरको इतिहास
परापूर्व कालदेखि नै आफ्नो सम्पत्तिको सुरक्षाका लागि लकरमा राख्ने प्रचलन रहिआएको थियो । कागजको नोटको विकास सँगसँगै अमेरिकी बैंकहरूले सन् १८१४ अघिदेखि खासगरी सुनको भण्डारण गर्नका लागि ‘विशेष निक्षेप’ राख्न सुरुवात गरेका कागजी प्रमाण भेटिन्छन् । पहिले आधुनिक निजी सुरक्षित डिपोजिट बक्स गर्ने कम्पनीको सुरुवात १ मे १८६५ मा न्युयोर्कमा गरिएपछि यसको लोकप्रियता अरु बढेको पाइन्छ । विश्व विकासँगै मानिससँग सम्पत्ति प्रशस्त हुन थालेपछि २०औं शताब्दीमा लकरको विकास तथा प्रयोग झन् झन् बढ्न थाल्यो ।

बैंकको तल्लो तलामा ठुल्ठूला पक्की सेफ (बाकस) भित्र बैंक र आफ्ना खास ग्राहकको सम्पत्ति र मूल्यवान कागजात राख्ने प्रचलनअनुरुप सुरक्षित डिपोजिट बक्स या लकरको विकास भएको थियो । बैंकहरूले आफ्ना ग्राहकको सम्पत्तिको सुरक्षाका लागि प्रतिष्पर्धात्मक रुपमा लकरको प्रयोग बढाउन थाले । यसपछि बैंक मात्र नभएर हुलाक, होटेललगायत निजी कम्पनीले पनि डिपोजिट बक्स राख्न थाले । पछिल्लो समय ठूलाठूला बेलायती बैंकले भने डिपोजिट बक्सको सेवालाई निरन्तर नगर्ने नीति अपनाएपछि यस क्षेत्रमा निजी क्षेत्रहरुले क्रियाशीलता बढाएका छन् ।


एसियालीमाझ बढि लोकप्रिय
अमेरिकामा करिब २ करोड २५ लाख डिपोजिट बक्स रहेको अनुमान गरिन्छ । त्यस्तै, स्विडेनमा ३ जनामा एकको डिपोजिट बक्स छ । फ्रान्समा ५ जनामा एकले डिपोजिट बक्स भाडामा लिएका छन् । हालै प्राप्त तथ्यांकअनुसार एसियाली मूलका मानिसले अरुले भन्दा निकै नै बढी डिपोजिट बक्सको उपयोग गरेको पाइएको छ । यी मूलका मानिसले गरगहनाको प्रयोग धेरै गर्ने र बचत गर्ने बानी भएकाले लकरको प्रयोग पनि बढि भएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

www.bankingkhabar.com बाट साभार ।

प्रकाशित मितिः     ८ पुष २०७५, आईतवार ०७:५५  |
error: Content is protected !!