पैसा नभएर व्यवसाय रोकियो ? सहुलियत व्याजमा लिनुहोस् ऋण


पैसा नभएर तपाईको व्यवसाय रोकियो ? यदी त्यसो हो भने तपाईले सहुलियत व्याजमा ऋण पाउनुहुन्छ।

सरकारले शिक्षित भइकन पनि बेरोजगार भएका युवा, दलित समुदाय, महिला तथा विदेशबाट फर्किएका युवालाई लक्षित गर्दै व्याजमा अनुदान दिने व्यवस्था गरेको छ। तपाईले लिने ऋणको व्याजमा ५ प्रतिशत सरकारले नै तिरिदिन्छ। यो ऋण लिनका लागि कुनै धितो राख्नु पर्दैन। अर्थात व्यवसाय नै धितो हुन्छ।

ऋण लिइने बैंकको आधार व्याजदरअनुसार तपाईले साढे ३ प्रतिशत व्याजदरमै यस्तो ऋण पाउनुहुन्छ।  आधार व्याजदरमा २ जोडेर आउने व्याजमा सरकारले ५ तिरिदिएपछि बाँकी रकम ऋणीले तिर्ने हो। जस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर अहिले ६.३३ प्रतिशत छ। यो सबैभन्दा कम हो। सो बैंकबाट यस्तो ऋण लिँदा तपाईलाई ३। ३३ प्रतिशत मात्रै व्याज पर्छ।

आधार व्याजदर १२ प्रतिशत भएका बैंकबाट लिने हो ९ प्रतिशत व्याज पर्न आउँछ। त्यसकारण कम आधार व्याजदर भएको बैंक छान्नु उपयुक्त हुन्छ।

के के व्यवसाय गर्न पाइन्छ यस्तो ऋण ? 
‘व्यवसायिक कृषि तथा पशुपन्छी पालन गर्नका लागि यस्तो ऋण लिन पाइन्छ।  यस्तो ऋणबाट अन्न उत्पादन, फलफूल, तरकारी, पशुपन्छीपालन गर्न सकिन्छ।

शिक्षित भइकन पनि बेरोजगार भएका अर्थात कम्तीमा स्नातक तह उतीर्ण गरेका युवाले ७ लाख रुपैयाँसम्मको  ‘युवा स्वरोजगार कर्जा’ पाउँछन्। यो रकमबाट उनीहरुले जुनसुकै व्यवसाय गर्न पाउँछन्।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका युवाले सस्तो व्याजदरमा १० लाखसम्मको ऋण पाउँछन्। यो ऋणलाई वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा भनेर व्याख्या गरिएको छ। यो रकमबाट उनीहरुले कृषि, व्यवसायिक तथा सेवामूलक जुनसुकै काम गर्न सक्नेछन्।

त्यस्तै महिलाहरुका लागि ‘महिला उद्यमशीलता कर्जा’ छ। १५ लाख रुपैयाँसम्म लिन पाइने यस्तो कर्जाबाट महिलाले सिलाइ बुनाई, चिया तथा चमेना गृह, ब्युटीपार्लर, होटल, कृषि काम लगायत आफूले गर्न चाहेको जुनसुकै व्यवसायका लागि ऋण पाउने छन्।

 दलित समुदाय व्यवसायिक कर्जाअन्तर्गत १० लाख रुपैयाँसम्म ऋण पाइन्छ। परम्परागत बाजा बनाउन, सुन, चाँदी, फलाम लगायत भाँडाकुँडा उद्योग तथा व्यवसायमा यो ऋण परिचालन गर्न सकिन्छ। जुत्ता, चप्पल तथा कपडा उद्योग लगायत व्यवसाय गर्नका लागि यस्तो ऋण पाइन्छ।

कहाँबाट लिने ऋण ?

आफू नजिक रहेको वाणिज्य बैंकहरुको जुनसुकै शाखाबाट यो ऋण पाइन्छ। सकेसम्म आधार व्याज कम भएको बैंक छान्नु उपयुक्त हुन्छ।

बैंकको शाखामा गई सहुलियत  कर्जा मागको निवेदन दिनुपर्छ। एउटा बैंक खाता खोल्नुपर्छ, बैंकले दिएअनुरुपको ढाँचामा परियोजनाको प्रस्ताव पेश गर्नुपर्नेछ। फर्म दर्ताको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान प्रमाणपत्रको प्रतिलिपी, ऋणी र परिवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपी लगायत आवश्यक कागजात बुझाउनुपर्छ।

प्रक्रिया पुरा भइसकेपछि निश्चित रकमबाट काम थाल्दै जान सकिन्छ। एकै पटक सम्पूर्ण ऋण नपाइने भएकाले परियोजनाको ढाँचाअनुरुप खर्च हुँदै गएपछि थप रकम पाइँदै गर्छ। www.bankingkhabar.com बाट

प्रकाशित मितिः     १० पुष २०७५, मंगलवार १८:०४  |