कोपोमिस प्रणाली लागु गर्न बाँकेका स्थानीय तहले सहकारीलाई पासवर्ड र युजर नेम कहिले दिन्छन् ?


बाँके :  सहकारी संघसंस्थाहरुको प्रर्वधन र नियमन प्रभावकारी बनाउन लागु गरिएको इन्टरनेटमा आधारित एकीकृत बिद्युतीय व्यवस्थापन प्रणाली ( कोपोमिस) का लागि बाँके जिल्लाका स्थानीय तहले सहकारी संस्थालाई पासवर्ड र युजर नेम दिन सकेका छैनन् । जबकी सहकारी बिभागले यही पुस मसान्तभित्र युजर र पासवर्ड लिएर कोपोमिस प्रणाली लागु गर्न सबै सहकारीलाई निर्देशन दिइसकेको छ ।
सहकारी बिभागले २०७५ मंसिर ११ गते नै देशका सबै स्थानीय तहमा कोपोमिस कार्यक्रम लागु गर्नका लागि पासवर्ड र युजर नेम उपलब्ध गराईसकेको जनाएको छ । प्रदेश सरकारलाई त स्थानीय तह अगावै उपलब्ध गराएको सहकारी बिभागले जारी गरेको सूचनामा जानकारी दिईएको छ । तर हालसम्म बाँके स्थानीय तहले सहकारीलाई पासवर्ड र युजर नेम उपलब्ध नगराएको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए ।
बाँकेका प्राय सबै स्थानीय तहले सहकारीको व्यवस्थापन तथा नियमन गर्न सकिरहेका छैनन् । सहकारी डिभिजनले हेर्दा आएको सहकारी अहिले स्थानीय तहले हेर्दै आएको छ । कर्मचारी व्यवस्थापन लगायतका कारण सहकारीको भरपर्दो नियमन तथा व्यवस्थापन हुनसकिरहेको छैन । सोही कारण देखाउँदै बाँकेका स्थानीय तहले कोपोमिस कार्यक्रमका लागि युजर नेम र पासवर्ड उपलब्ध गराउन नसकेको अध्यक्ष सुवेदीले बताए । तर स्थानीय तहले छिटट्ै उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।
सहकारी बिभागले सबै सहकारी संघसंस्थालाई अनिवार्यरुपमा उक्त प्रणाललिाई प्रयोग गर्न भनिसकेको छ । अब सहकारीले सम्पूर्ण काम सोही प्रणाली मार्फत नियामक निकायबाट पठाउने र नियमितरुपमा अद्याबधिक गर्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मितिः     ११ पुष २०७५, बुधबार १०:५९  |