‘दुध बिक्रीबाट दैनिक ३ करोड रकम शहरदेखि गाउँमा जान्छ’


सुर्खेतमा आयोजना हुने डेरी एशोसियनको साधारणसभाका बारेमा बुधवार नेपालगन्जमा जानकारी गराउँदै अध्यक्ष लगातका पदाधिकारी ।

बाँके :  दुधको बिक्री बितरणबाट दैनिक तीन करोड रुपैया शहरबाट गाउँ गएको नेपाल डेरी एशोसियसनले जानकारी दिएको छ । उक्त रकम शरहबाट गाउँमा प्रवाह हुँदा ठुलो संख्यामा रोजगारी सिर्जना भएको डेरी एशोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।
कर्णाली प्रदेशमा पुस १४ गते हुन लागेको डेरी एशोसियसनको २० औं वार्षिक साधारणसभाको बारेमा जानकारी दिन बुधवार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देशभरको दुग्ध उत्पादनको अवस्थाका बिषयमा जानकारी दिदै अध्यक्ष सापकोटाले दुग्ध व्यवसायमा देशभरका ५ लाख कृषक आवद्ध भएको र ३० हजार बढी मानिसहरु उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएको बताए ।
डेरी एशोसियसनका अनुसार, दुग्ध उत्पादक उद्योगहरुबाट मात्र वार्षिक १ अर्व भन्दा बढि राजश्व उठ्छ भने यस क्षेत्रमा २५ अर्व भन्दा बढि लगानीका उद्योगहरु सन्चालनमा छन् । देशभर दैनिक ५० लाख लिटर दुध उत्पादन हुने गरेको छ । देशको आर्थिक उन्नतीमा ठुलो योगदान दिएपनि राज्यले भने प्रोत्साहन गनृ नसकेको अध्यक्ष सापकोटाले बताए । उनले अझ सरकारले स्वदेशी दुग्ध उत्पादन गर्ने उद्योगी र कृषकलाईमा मारमा पार्ने गरी बिदेशी लगानी भित्रा्उन अनुमति दिने कुरा चिन्ताजनक भएको बताए ।
डेरी एशोसियसनका महासचिव प्रहलाद दाहालले दुग्ध क्षेत्रमा देश आत्मनिर्भर बन्दै गएकाले बिदेशी लगानी भित्रा्उने कुरामो जोडदार बिरोध गरे । उनले त्यस्तो अवस्था आए ५ लाख कृषक परिवारको रोजगारी जोखिममा पर्ने र २५ अर्व लगानी पूर्णरुपमा जोखिमयुक्त हुने दाबी गरे । कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको डेरी एशोसियसनको वार्षिक साधारणसभामा यिनै बिषयमा कुरा उठ्ने पनि महासचिव दाहालले बताए । मुख्यमन्त्री महेन्द्र शाहीले साधारणसभाको उद्घाटन गर्नेछन् ।

प्रकाशित मितिः     ११ पुष २०७५, बुधबार १५:२०  |