श्रम ऐन अनुसार बढेको तलव दिन आनाकानी, श्रम कार्यालयमा उजुरी ओइरिन थाले


बाँके : नयाँ श्रम ऐन अनुसार पारिश्रमिक नदिएको भन्दै कादारहरुले उजुरी गर्न थालेका छन् । श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा अहिलेसम्मद १६ जना कामदारले बढेको पारिश्रमिक नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी माथि छानबिन भइरहेको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख हरिशंकर चौलागाईले जानकारी दिए ।
ठेकेदार मार्फत बिभिन्न क्षेत्रमा काम गरेका कामदारहरु उजुरी गर्नेहरुमा धेरै छन् । गार्ड, सरसफाईक्षेत्रका कर्मचारीहरु ठेक्का प्रणालीबाट अस्पताल, उद्योग, टेलिकम जस्ता प्रतिष्ठानहरुमा काम गर्दै आएका थिए । उनीहरुले श्रम ऐन अनुसार बढेको पारिश्रमिक नपाएको भन्दै उजुरी दर्ता गराएका हुन । बाँके, दांगबाट धेरै उजुरी आएको चौलागाईले जानकारी दिए । उक्त उजुरी माथि छानबिन भइरहेको र रोजगारदातासंग बुझ्ने काम भइरहेको श्रम कार्यालयले बताएको छ ।
स्रोतका अनुसार रोजगारदातासंग पुरानै श्रम ऐन अनुसार ९ हजार पारिश्रमिक पाउने गरी कामदार राख्ने सम्झौता भएको र सम्झौता नसकिएकै अवस्थामा श्रम ऐन लागु भई पारिश्रमिक १३ हजार ४ सय ५० रुपैया पुगेपछि काम लगाउने ठेकेदारहरु बढेको पैसा कहाँबाट ल्याउने भन्नेमा अन्यौल छ । सोही कारणले बढेको रकम दिन नसकिएको एक रोजगारदाताले बताए । तर श्रम कार्यालयका प्रमुख चौलागाईले बाध्यता जे सुकै भएपनि कामदारले श्रम ऐन अनुसार पारिश्रमिक पाउनुपर्ने बताए ।
नयाँ श्रम ऐन अनुसार अब त्यस्ता ठेक्का प्रणालीबाट कामदार राख्नेहरुले बिभिन्न मापदण्ड पुरा गर्नुपर्छ । श्रम बिभाग र श्रम कार्यालयमा दर्ता हुनुपर्ने भएपनि पुस सात गतेसम्म कुनै पनि त्यस्ता सेवाप्रदायक कम्पनीहरु दर्ताका लागि आएका छैनन् । दर्ता बिना सन्चालन भएको पाईए कारवाही हुने श्रम ऐनमा व्यवस्था छ ।

प्रकाशित मितिः     १३ पुष २०७५, शुक्रबार ११:१३  |