बाँके : भेरी यातायात प्रालिले दिल्लीका लागि सुविधा सम्पन्न बस सेवा शुभारम्भ गर्न शनिबार नेपालगन्जको धम्बोझीस्थित होटल सिटी प्यालेसमा भब्य कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथी थिए, प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता शंकर पोखरेल । मुख्यमन्त्री पोखरेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, भारतीय दुतावासका सहसचिव निरजकुमार जयसवाल, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यवसायीका अगुवा सहभागि उक्त जमघटमा बस सेवा सन्चालन मात्र होइन, हवाई यात्रासंग नेपालगन्ज र दिल्लीलाई जोड्ने बिषयले पनि प्रवेश पायो ।
नेपालगन्ज दिल्ली हवाई उडानको लागि नेपालगन्जमा अभियाननै सन्चालन भइरहेको छ । बुद्ध एयरले दिल्ली उडान गर्ने भनेर औपचारिकरुपमा घोषणा गरिसकेको छ । तर हवाई उडानका लागि भारतका तर्फबाट परमिट नपाएका कारण उडान सम्भवत भएको छैन । यही बिषयलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जोडदारसंग मुख्यमन्त्री समक्ष कुरा राखे । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा राणाले बस सेवा सन्चालनले मात्र पनि नेपालगन्ज र दिल्लीको दुरी घटाईदिएको बताउँदै भने, ‘झन् हामीले सुरु गरेको नेपालगन्ज दिल्ली उडानले सार्थकता पायो भने कति नजिक हुन्थ्यो होला ?’ मेयर राणाले यस क्षेत्रको समृद्धिका लागि नेपालगन्ज दिल्ली उडान जरुरी भएको भन्दै छिटो उडान गराउने काममा पहल गरिदिन मुख्यमन्त्री पोखरेलको ध्यानार्कषण गराए ।
मेयर राणाले हवाई उडानका लागि नेपालगन्जमा हुनुपर्ने धेरै तयारी भइसकेको र अब भारत त्यसका लागि तयार हुनुपर्ने बताए । सोही बिषयलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले कुरा उठाए । उनले भने,‘नेपालगन्ज दिल्ली जोड्न आज शुरु भएको बस सेवाबाट म अत्यन्तै खुसी छौं । आशा गरौं अब छिट्ै हवाई उडान पनि हुनेछ ।’ मेयर राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यको कुरा सुनेपछि मुख्यमन्त्री पोखरेलले नेपालगन्ज दिल्ली उडानका लागि धेरै काम सम्पन्न भइसकेको र अब चाडै यसले सार्थकता पाउनेमा बिश्वस्त हुन आग्रह गरे । मुख्यमन्त्री पोखरेलले नेपालगन्ज सडक यातायात मात्र नभई भावी दिनमा रेल र हवाई सन्जाल समेत जोडिने भन्दै यहाँको समृद्धिको लागि निरास हुननपर्ने बताए । कार्यक्रममा बोल्दै भारतीय दुतावासका सहसचिव निरज जयसवालले हवाई उडान लगायत बिभिन्न बिषयमा उठेका सवालहरु उच्च तहमा राख्ने आश्वासन दिए ।