ज्ञान एग्री कार्यक्रम बन्द, कृषकले रुची देखाएनन्


बाँके :  बाँके, बर्दिया र दाङ्गका कृषकलाई लक्षित गरेर २०७१ सालमा के.एल.दुगड समूहले ग्लोवल आईएमई बैंकको सहकार्यमा नेपालगन्जमा सुरु गरेको ज्ञान एग्री भण्डारण कृषि उपज केन्द्र बन्द भएको छ ।  बैंकको झण्झटिलो प्रक्रिया र ब्याजको कारण कृषकहरु उक्त कार्यक्रममा सहभागि हुन नआएपछि एक वर्ष अघिदेखि नै कार्यक्रम बन्द छ । ज्ञान एग्री वेयरहाउजिङ्ग एण्ड कोलाष्ट्रल म्यानेज्मेन्ट प्रालि मार्फत स्थापना गरिएको उक्त कृषि उपज भण्डारण केन्द्रमा करिब रु १५ करोड बढीको लागत रहेको थियो भने सो केन्द्रको क्षमता ३ हजार ५ सय मेट्रिक टन रहेको थियो ।
रु १ सय ५० प्रति मेट्रिक टन भाडा तिरेर कृषकले आफ्ना कृषि उत्पादन सो केन्द्रमा भण्डारण गर्न पाउने व्यवस्था गरिएको थियो । तर कृषक उक्त कार्यक्रम भित्र आउन रुची नदेखाएपछि एक वर्ष अघि नै कार्यक्रम बन्द गरिएको केएल दुगड नेपालगन्जका प्रबन्ध निर्देशक प्रदिप छाजेडले बताए । उक्त भण्डारण केन्द्रको स्थापना पछि कृषकको उत्पादन कुहिने, चोरी हुने, आगलागीबाट नष्ट हुने र मूल्य नपाउने समस्या समाप्त हुने बिश्वास लिईएको थियो । कृषि उपजको भण्डारण कम्पनीले आफै बिमा समेत गर्नेछ । भण्डारण केन्द्रमा कृषकले उपज राखैकै आधारमा ‘वेयर हाउस रसिद मार्फत कर्जा’ समेत पाएका थिए ।

       कृषकको उत्पादन सुरक्षित रहोस र बजारमा राम्रो मूल्य पाउन भन्नका लागि आफुले प्रयास थालेको थियो । आफ्नो यहाँका कृषकहरुबाट कृषि बाली खरिद गरेर करिब ६्७ प्रकारका खाद्यान्न उद्योगहरु सञ्चालनमा ल्याएको समेत भनिएको थियो । भण्डारण गर्ने कृषकलाई कृषि सम्बन्धीका विभिन्न तालिमहरु समेत प्रदान गरिएको थियो । कृषकले भण्डारण गरिएको बालीको बजार मूल्यको ७० प्रतिशत बराबरको बैंकबाट कर्जा पाएका थिए । तर बैंकको प्रक्रिया लामो भएपछि कृषकहरु कार्यक्रम सहभागि भएनन् ।

प्रकाशित मितिः     १६ पुष २०७५, सोमबार ०९:४४  |