बाँके : सन् नेपाल लाईफ इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले बिमा अधिकर्तासंग बुधवार नेपालगन्जमा बिमाका बिषयमा छलफल गरेका छन् । सन् नेपालको नेपालगन्ज, पुष्पलालचोकस्थित कार्यालयमा आयोजित बिमा जागरण , अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले बिमाका बिभिन्न बिषयमा अनुभव साटासाट गर्दै नयाँ अभिकर्ताहरुलाई बिमाक्षेत्रमा लाग्न प्रेरित गरे ।
कायममुकायम प्रमुख कार्यकारी अधिकृत अर्यालले सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले धेरै छोटो अवधिमा देशमा एक विश्वसनीय र व्यावसायिक बीमा प्रदायकको रूपमा स्थापित भएको बताए । कम्पनी सबै आर्थिकक्षेत्र र भौगोलिक स्थानका मानिसहरूलाई सर्वोत्तम ग्राहक सेवा प्रदान गर्न निरन्तर खोजीमा रहेको उनले जानकारी दिए । हरेक दृष्टीकोणले नेपालगन्ज अगाडी भएकाले बिमाको लागि नेपालगन्ज ठुलो सम्भावना भएको क्षेत्र भएको अर्यालले बताए ।
सोही अवसरमा बोल्दै महाप्रबन्धक गौतमले अभिकर्ताहरुसंग आफुले बिमाक्षेत्रमा काम गर्दाका अनुभवहरु साटासाट गरे । राष्ट्र बैंक र बिमा संस्थानमा लामो समय काम गरिसकेका गौतमले अभिकर्ताहरुलाई बिमाक्षेत्रमा आर्थिकरुपमा सक्षम हुने प्रशस्त सम्भावना भएको बताउँदै भने,—‘तर त्यसका लागि तपाईमा उत्साह र इमानदारिता चाहिन्छ ।’ दुःख गरेपछि बिमाक्षेत्रबाट हरेक अभिकर्तालाई राम्रो पारिश्रमिक र अन्य सेवासुविधा पाइने भन्दै गौतमले त्यसका लागि बिमा गराउने खुबी आफुले बिकास गर्न सक्नुपर्ने बताए ।
उनले भने,—‘नचिनेको मान्छेलाई चिन्ने बनाएर बिमा गराउने हो ।’ गौतमले बिमाक्षेत्रका बिषयमा मानिसहरुले अनेक भ्रमहरु पाल्न सक्ने भन्दै त्यस्ता भ्रमहरु ह्टाउन अभिकर्ताको काँधमा जिम्मेवारी रहेको बताए । ‘भन्नेले त ठगेर भाग्छ पनि भन्छन् । तर बैधानिक तरिकाले सन्चालन भएका बिमा भाग्ने कुरै आउँदैन् ।’— गौतमले भने । कम्पनीको पूंजी संरचना दुई अरव छ । उक्त बिमा कम्पनीका नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले अभिकर्ताहरुको सम्मान र अन्तरक्रियाले उत्साह थपेको बताए । उनले सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीप्रति बिमाकर्ताहरुको आर्कषण रहेको बताए ।