उपमहानगरले ल्याएको पशु र कृषि कार्यक्रमको सदुपयोग गरौं : उपमेयर थापा
प्रकाशित मितिः
457 Views
अर्थ संवाददाता
निर्धन उत्थान लद्युबित्त संस्था लिमिटेड, परसपुरले आफ्ना सदस्य फुलकुमारी काँदुको निधन पछि उपलब्ध गराएको बिमा रकम उनका श्रीमान रामकिशनलाई हस्तान्तरण गर्दै उपमेयर थापा ।
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले कृषि र पशुपालनको क्षेत्रमा काम गर्न चाहाने सर्वसाधारणका लागि ल्याएको कार्यक्रमको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ । उपमेयर उमा थापामगरले कृषकहरुको हितमा ध्यान दिदै कृषि र पशुपालनका क्षेत्रमा ल्याईएका कार्यक्रमहरुमा सहभागि हुन र उद्यम क्षेत्रमा लाग्न नगरवासीलाई आग्रह गरेकी छन् ।
निर्धन उत्थान लद्युबित्त संस्था लिमिटेड, परसपुरको आयोजना आईतबार बिहान नेपालगन्जमा आयोजना गरेको व्यवसायिक कुखुरापालन तालिमको उद्घाटन गर्दै उपमेयर थापाले कृषि र पशुपालनको क्षेत्रमा धेरै योजनाहरु ल्याईएको बताईन । ‘पहिले स्थानीय निकायले विकासको मात्र काम गर्थे । अहिले संरचना पुरै फेरिएको छ । स्थानीय तहले नै शाखाहरु स्थापना गरेर पशु, कृषि जस्ता क्षेत्रलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु ल्याएका छन् ।’ उपमेयर थापाले भनिन्—‘नेपालगन्ज उपमहानगरले पनि यस्ता कार्यक्रम ल्याएको छ । यसको भरपुर सदुपयोग गर्न आग्रह गर्छु ।’
उपमेयर थापाले शाखाहरु भर्खर स्थापना भएकाले योजनाहरु सफल बनाउन हरेक नागरिकहरुको सहयोगको अपेक्षा गरिएको बताईन । ‘हामी अझै सिकाईकै क्रममा छौं । हरेक नागरिकले सहयोग गर्नुभयो भने तपाई हामीले खोजेको नतिजा पाउँछौ ।’— उनले भनिन् । स्थानीय तहसंग कृषकहरुको सिधा पहुँच भए मात्र कार्यक्रमहरुको सही सदुपयोग हुने उपमेयर थापाले बताईन । भारतीय कुखुराको आयातका बिषयमा महिला कृषकहरुले राखेको गुनासाको बिषयमा बोल्दै उपमेयर थापाले प्रशासनिक र सुरक्षा निकायले भारतीय कुखुराको अवैध आयात रोक्न आग्रह गरिएको बताईन ।
निर्धन उत्थान लद्युबित्तले आयोजना गरेको कार्यक्रममा महिला कृषक अनु थापाले भारतीय कुखुराको अवैध आयातले आफुहरुको व्यवसाय धरासायी बनेको बताएकी थिईन । महिलाहरुलाई व्यवसायिक कुखुरापालन सिकाउनका लागि तालिम सन्चालन गरिएको निर्धन परसपुर शाखाका प्रमुख टोपबहादुर रासकोटीले बताए । सो अवसरमा निर्धनबाट ब्याज लिई बिमा गराएकी फुलकुमारी काँदुको निधन भएपछि उनको बिमा रकम श्रीमान रामकिसनलाई प्रदान गरियो । निर्धनका क्षेत्रीय कार्यक्रम अधिकृत प्रेम सुवेदीले ग्रामिणक्षेत्रमा स्वरोजगार बनाउन निर्धनको महत्वपूर्ण भुमिका रहेको बताए ।