होटल व्यवसायी संघ, बाँकेको अध्यक्ष उम्मेदवारमा खड्का र डाँगी निश्चित जस्तै


बाँके :  पुस ११ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवारको नाम लगभग टुंगो लागेको छ । तर यसलाई औपचारिकता दिन भने बाँकी छ । पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ । पूर्व एमाले र पूर्व माओवादी पार्टीप्रति आस्था राख्ने अग्रज व्यवसायीहरु सहभागि टिमले खड्कालाई सर्बसम्मतरुपमा अध्यक्षको उम्मेदवार बनाउने लिखित निर्णय नै गरिसकेको छ । बामपन्थी बिचार राख्ने व्यवसायीहरुको तर्फबाट नारद पुरी, भिम कंडेलको दाबेदारी थियो ।
तर संस्थापक र अग्रजहरुको छलफलका क्रममा खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको हो । उक्त निर्णयप्रति नारद पुरी सकारात्मक जस्तै देखिन्छन् तर कंडेलले त आफु स्वतन्त्ररुपमा निर्वाचन नै लड्ने बताएका छन् । पुरीलाई आगामी दिनमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी सहित मनाईएको छ । पुरीले पार्टीगत कुरा भन्दा पनि व्यवसायिक हितलाई ध्यानमा राखेर सहमति दिएको बताए । ‘यसमा पार्टी भन्ने कुरा भएन । बिशुद्ध व्यवसायिक हितका लागि मैले सहमति जनाएको हुँ ।’—उनले भने । यता कंडेलले त आफु व्यवसायिक हितका लागि अध्यक्ष पदमा निर्वाचन लड्ने बताए । होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्लले हरेक उम्मेदवार व्यवसायिक हितकै लागि प्रतिस्पर्धामा उत्रिने बताए । उनले पार्टीको झण्डा बोकेर कोही पनि प्रतिस्पर्धामा नआउने पनि बताए । ‘ हुनसक्छ साथीहरुको आस्था कुनै न कुनै दलसंग जोडिन्छ । तर व्यवसायिक हित महत्वपूर्ण कुरा हो ।’— उनले भने ।
बामपन्थी व्यवसायीहरुको तर्फबाट खड्का लगभग टुंगो लागेको छ भने प्रजातान्त्रिक समूहबाट हालकी बरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन डाँगी सबसम्मत जस्तै देखिन्छन् । उक्त समूहमा पनि अहिले आन्तरिक छलफल र बहस भने चलिरहेको छ । व्यवसायी माझ नयाँ कार्यसमितिको नेतृत्व र अन्य पदमा को हुने भन्ने बिषयमा माहोल नै तात्तिएको छ । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष निमबहादुर थापाले आफुहरु अधिवेशनको तयारीमा रहेको बताए । अधिवेशन नजिकिदा साथीहरु माझ कार्यसमिति निर्माणका बिषयमा आन्तरिक छलफल हुनु स्वभाविक भएको बताए । ‘साथीहरु बीच एक आपसमा छलफल भइरहन्छ ।’ उनले सकभर सहमतिकै माध्यम बाट कार्यसमिति निर्माणमा जुट्ने बताए । व्यवसायिक संगठन भएकाले सकेसम्म आपसी समझदारीबाटै नेतृत्व चयनुहुनुपर्ने पक्षमा आफुहरु रहेको थापाले बताए ।

प्रकाशित मितिः     २४ मंसिर २०७५, सोमबार ०८:०९  |