जिल्ला सहकारी संघ बाँकेले आफ्नै हाटबजार देखि भोजनालयसम्म खोल्ने


बाँके :  जिल्ला सहकारी संघ बाँकेले सहकारीमा आधारित हाट बजारदेखि भोजनालयसम्म स्थापना गर्ने दिर्घकालिन योजना बनाएको छ । संघको आईतबार सम्पन्न भएको २७ औं वार्षिक साधरणसभामा अध्यक्ष प्रेम प्रसाद सुवेदीले उक्त कार्ययोजना पेश गरे । उनको कार्ययोजनामा सम्भाव्यताको आधारमा सहकारी तरकारी हाटबजार, सहकारी यातायात, सहकारी राईस मिल, सहकारी भोजनालय व्यवसाय सन्चालन गर्ने उल्लेख छ । यि सबै कुरा तत्कालै नहुने भन्दै अध्यक्ष सुवेदीले क्रमिकरुपमा हुँदै जाने बताएका छन् । महत्वकांक्षी भए पनि सबैको साथ र सहयोग पाए ती कार्ययोजना पुरा हुने उनले
बताए ।
जिल्ला सहकारी संघले सदस्य सस्था तथा बिषयगत संघको क्रियाकलाप आवश्यकता अनुसार ऋण र कृषि सामाग्री कृषि उत्पादन उपभोक्ता उपभोग्य बस्तुहरु र स्थानीय उपभोक्ताहरुको लागि आवश्यक उपकरण तथा कच्चा पदार्थ आपूर्ती गर्ने पनि उल्लेख छ । यसका साथै सहकारी संघ संस्थाहरु बीच आन्तरिक सुधारका लागि बिभिन्न कार्यक्रम गर्ने उल्लेख छ ।
बाँके जिल्लामा ४ सय ९ सहकारी संस्थाहरु छन् भने यिनीहरुमा चार अर्वको कारोवार हुने गर्छ । यि सहकारीमा १ लाख ६५ हजार सदस्य छन् । दैनिक ८ हजार ५ सय लिटर दुध सहकारी मार्फत उत्पादन भइरहेको छ भने ३ हजार २ सयलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रकाशित मितिः     २४ मंसिर २०७५, सोमबार १०:२५  |