सुन पसलमा धितो : नियमन नै छैन


बाँके : सानादेखि ठुलो सुनचाँदी पसलमा सर्बसाधारणले छिटो ऋण पाउने प्रलोभनमा राखेको सुन कति सुरक्षित     छ ? कहिल्यै सोच्नु भएको छ ? धितो सुरक्षाको कुरा मात्र होइन तपाईको धितोको सही मुल्यांकन नभएको पनि हुन सक्छ । ब्याजदर त चर्को छदैछ । यस्ता संबेदनशिल बिषयमा वास्तै नगरी अहिले जथाभावी सुन धितो राखी कर्जा प्रवाह भइरहेको छ । लिनेले ऋण लिइरहेका छन् दिनेले दिइरहेका छन् । तर यो बिषयमा कुनै सरकारी निकायले अनुगमन र निगराजनी गर्दैनन् । कतिसम्म भने यसको नियमन गर्ने निकाय कुन हो भन्ने सम्म पत्तो छैन ।


धितो राख्ने बिषयमा राष्ट्र बैंकको नीति स्पष्ट छ । बैंक तथा बित्तिय क्षेत्र बाहेकलाई कर्जा लिन दिन अनुमति नदिएकाले सुनका बिषयमा पनि त्यही कुरा लागु हुन्छ । यस सम्बन्धमा यत्ति नै भनौं । अनुमति प्राप्त बैंक तथा बित्तिय क्षेत्र भन्दा बाहिर धितो राखेर कर्जा दिने काम भइरहेको हो भने आमनागरिक बैंकिंग प्रणालीका बारेमा बुझाउँन जरुरी छ ।

-बिमलराज खनाल,
निर्देशक,नेपाल राष्ट्र बैंक, नेपालगन्ज निर्देशक


नियमन बिनाको सुन कर्जाले ठुलै समस्या निम्त्याउने खतरा देखिएको छ । सर्बसाधारणका अनुसार प्राय सबै सुन पसलले जसको पनि सुन धितो राखिदिन्छन् । चर्को मिटर ब्याजदर र न्यून मुल्यांकन गर्न पाउपछि सुन पसललाई ऋण दिन समस्या नै भएन । यता झटपट् ऋण पाउने भएपछि सर्बसाधारणलाई आफ्नो धितोको सही मुल्यांकन भए नभएको र मिटर ब्याजको प्रवाह हुँदैन । यसरी नेपालगन्जमा मात्र लाखौंको कारोवार हुन्छ । नत अनुगमन छ नत नियमन गर्ने निकाय नै देखिन्छ । राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक बिमलराज खनालले धितो राख्ने बिषयमा राष्ट्र बैंक स्पष्ट रहेको बताए ।


सुन लगायतका बिषयमा जिल्ला प्रशासन कार्यालय बाँके लगायत सरकारी निकायबाट अनुगमन भइरहन्छ । तर सुन पसलमा हुने धितोको बिषयमा मैले बुझ्न पाएको छैन । जसले जस्तोसुके काम गरे पनि कानुनी प्रक्रिया भित्र रहेर काम गर्नुपर्छ । कानुन भन्दा बाहिर कुनै काम भइरहेको छ भने कारवाही हुने पनि उनले बताए । यो बिषयमा के भइरहेको छ म बुझेर मात्र भनौला ।

-सुरेश सुनार

सहायक प्रमुख जिल्ला अधिकारी, बाँके


बैंक तथा बित्तिय क्षेत्र बाहेकलाई कर्जा लिन दिन अनुमति नदिएकाले सुनका बिषयमा पनि त्यही कुरा लागु हुने बताए । यस सम्बन्धमा आफुले धेरै भन्न नमिल्ने बताउँदै खनालले थपे,—‘अनुमति प्राप्त बैंक तथा बित्तिय क्षेत्र भन्दा बाहिर धितो राखेर कर्जा दिने काम भइरहेको हो भने आमनागरिक बैंकिंग प्रणालीका बारेमा अनभिज्ञ हुनुहुन्छ भन्ने देखिन्छ ।’ कानुनी प्रक्रिया भन्दा बाहिर धितो राख्ने र कर्जा लिने कार्य जोखिमयुक्त भएको खनालले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेले सुनचाँदीको गुणस्तरका बिषयमा अनुगमन गर्छ ।
तर कर्जाका बिषयमा अहिलेसम्म अनुगमन गरेको पाईदैन । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कानुनी प्रक्रिया भित्र रहेरै सबेले काम गर्नुपर्ने बताए । कानुन भन्दा बाहिर कुनै काम भइरहेको छ भने कारवाही हुने पनि उनले बताए ।‘यो बिषयमा के भइरहेको छ म बुझेर मात्र भनौला ।’— सुनारले भने ।


कानुन भन्दा बाहिर रहेर कुनै व्यवसायीले व्यवसाय गरेको छैन । सर्बसाधारणलाई मर्का पार्ने काम भएको छैन । हाम्रा व्यवसायीहरुले कानुन भन्दा बाहिर गएर काम गरेका छन् भन्ने मलाई लाग्दैन । अनुमति लिएरै काम गर्नुभएको होला । पाना नम्बर लिएपछि व्यवसायीले देशभर काम गर्न सक्ने भन्दै जसगढले यहाँका सबै व्यवसायीले पाना नम्बर लिएर काम गरिरहेका छन् ।

सलाउद्धिन जसगढ, अध्यक्ष, सुनचाँदी व्यवसायी संघ


यता सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्धिन जसगढले अनुमति लिएरै धितो राखेको हुनसक्ने बताए । नेपालगन्जमा कसकस्ले अनुमति लिएको छन् भन्ने एकिन नभए पनि जसगढले भने,—‘हाम्रा व्यवसायीहरुले कानुन भन्दा बाहिर गएर काम गरेका छन् भन्ने मलाई लाग्दैन ।’ पाना नम्बर लिएपछि व्यवसायीले देशभर काम गर्न सक्ने भन्दै जसगढले यहाँका सबै व्यवसायीले पाना नम्बर लिएको भने उनले बताए ।

प्रकाशित मितिः     २६ मंसिर २०७५, बुधबार ०८:४२  |