बाँके : बिवाहको जन्ती जीप दुर्घटनामा परी छ जनाको निधन भएपछि बाँके राप्तीसोनारी—८ ओभरी गाउँ स्तब्ध छ । यहाँका मानिसहरु निःशब्द भएर बसेका छन् । एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । घरी भक्कानिन्छन् त मृतक आफन्तलाई सम्झिएर चिच्याउँछन् । सम्झाउनेसम्मको मान्छे छैनन् । ‘हिजो रातीसम्म खुसियाली थियो । बिहानै गाउँमा सन्नाटा छाएको छ ।’— वडा अध्यक्ष खिमबहादुर बस्नेतले भने,—‘यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कस्लेले कस्लाई सम्झाईदिने ? हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौं ।’
वडा अध्यक्ष बस्नेतका अनुसार, धोजापतकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकहरुको शव दांगबाट आउँदैछ । अन्तिम संस्कारका लागि घाटमा लैजान बाँस तयार गरिदैछ । ‘सकभर आजै अन्तिम संस्कार गर्ने की भन्ने कुरा छ ।’—वडा अध्यक्ष बस्नेतले भने । प्रदेश सभाषद कृष्णा केसी नमुनाले
उक्त घटनाले आफुलाई मर्माहत बनाएको बताएकी छन् । ‘सुन्दै अपत्यारिलो घटनाले मलाई निकै दुःखी बनायो ।’— उनले भनिन् । मृतकहरु शिक्षकदेखि व्यवसायक्षेत्रमा क्रियाशिलहरु छन् । बिवाहको जीप बिहिवार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको थियो । चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको
छ । मानबहादुर केसी र विमला खत्री बेहुला यज्ञ खत्रीका आमा बुवा हुन् । शवलाई लमही अस्पतालमा राखिएको छ । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । बेहुला र बेहुली भने अर्काे गाडीमा थिए । बुवा आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको हो ।