पन्छीको बीमा गर्न आनाकानी : कृषक, समाधानको पहल गर्ने सांसद नमुनाको प्रतिवद्धता


कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद नमुना, प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायत ।

बाँके :  बिमा कम्पनीहरुले पन्छी बीमा गर्न नमानेको कुखुरापालक व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल सरकारले पशुपन्छी बीमा निर्देशिका २०६९ जारी गरेको अवस्थामा बीमा समितिबाट जिम्मेवार तोकिएका बीमा कम्पनीहरुले गर्ने तर्फ चासो नदिएको व्यवसायीहरुको आरोप छ । नेपालगन्जमा मंगलबार पोल्ट्री दिवशको अवसरमा आयोजना गरिएको बृहद कार्यक्रममा बोल्दै व्यवसायीहरुले पन्छी बीमामा चासो नदिने बीमा कम्पनीलाई सचेत गराउन माग गरे । सोही क्रममा कार्यक्रमकी प्रमुख अतिथी प्रदेश ५ की प्रदेश सांसद कृष्णा केसी नमुनालाई ज्ञापनपत्र बुझाउँदै पन्छी बीमा गर्न इनकार गर्ने बीमा कम्पनीलाई उत्तरदायी बनाउन र समय सापेक्ष बीमा सम्बन्धि नियम कानुन बनाउन सरोकारवाला निकायको ध्यानार्कषण गराईदिन आग्रह  गरे ।

कार्यक्रममा सहभागि कुखुरापालक व्यवसायीहरु ।

बीमा कम्पनीहरुले पशुहरुको बीमा गर्ने गरेको भएपनि पन्छीको बिमा गनृ आनाकानी गर्ने गरेको उनीहरुको भनाई छ । पोल्ट्री दिवश २०७५ को कार्यक्रम संयोजक एवं व्यवसायी यज्ञप्रसाद सुवेदीले पन्छी व्यवसायीलाई अनुदान समेत नदिईएको गुनासो गरे । अन्य कृषि पेशामा अनुदान दिने भएपनि कुखुरा उत्पादनमा अनुदान नदिईएको भन्दै अब सरकारले अनुदानका साथै सुलभ र सरल किसिमबाट ऋण प्राप्त गर्ने वातावारण बनाउन माग गरे ।
कुखुरापालक व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले भरपर्दो प्रयोगशाला नहुँदा कुखुरामा कुनै जटिल प्रकारको रोग लाग्यो भने रोग निदान गर्न सक्ने कुनै उपाय नै नहुने अवस्था रहेको बताए । त्यसरी रोग समयमै निको नहुँदा लाखौंको क्षती व्यहोर्नुपर्ने अवस्था रहेको खत्रीले बताए । उनले बाँके र बर्दियामा सुविधा सम्पन्न प्रयोगशालाको निर्माण गनृ पनि सरोकारवाला निकायको ध्यानार्कषण गराएका छन् ।
कुखुरापालक संघ बर्दियाका अध्यक्ष महेशकुमार शाहले भारतीय सिमाक्षेत्रबाट हुने कुखुराको आयातमा कमी आएपनि नियन्त्रण हुन नसकेको भन्दै त्यसलाई रोकन आग्रह गरे ।


बर्दियाका अगुवा कुखुरापालक व्यवसायी बिकास गौतम आफ्ना धारणा राख्दै ।

उनले यसरी हुने अवैध ओसारपसार नियन्त्रण गर्न जरुरी रहेको पनि बताए । कार्यक्रममा प्रदेश सांसद नमुनाले कुखुरापालक व्यवसायीको हितमा के कस्ता नीति निर्माण गर्नुपर्ने हो त्यसका लागि पहल गर्ने बताईन । उनले भनिन् ‘किसानको मर्म मैले बुझेकी छु । तपाईहरुका समस्या समाधानका लागि कहाँ के गर्नुपर्ने हो म पहल गर्छु ।’ उनले केन्द्र र प्रदेशको कृषि मन्त्री ५ नम्बर प्रदेशकै भएकाले समस्या समाधान हुनेमा बिश्वस्त हुन पनि आग्रह गरिन । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सिमाक्षेत्रबाट आउने अवैध कुखुरा नियन्त्रणमा रहेको बताउँदै अझ त्यसलाई कडाई गर्ने प्रतिवद्धा जनाए ।

प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार १६:२१  |
error: Content is protected !!