क्विण्टल जडिबुटी निर्यात गरेर मिलिग्राम झोल औषधी किन्नुपने अवस्थाको अन्त्य गर्छौ– वन मन्त्री बस्नेत


नेपालगन्ज :  वन तथा वातावारण मन्त्री शक्ति बहादुर बस्नेतले क्विण्टल कच्चा जडिबुटी बिदेशमा निर्यात गरेर त्यही जडिबुटीबाट बनेको मिलिग्राम झोल किन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । नेपाल जडिबुटी व्यवसायी संघको २० औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वन मन्त्री बस्नेतले स्वदेशमै जडिबुटीको प्रशोधन गर्ने बिषयलाई प्राथमिकतामा राखिएको बताए ।
‘आजको भोली नै हामीले भनेजस्तो नहोला तर हामी अब कच्चा जडिबुटी निर्यात गरेर मिलिग्रामका दरले औषधी किन्ने अवस्थाबाट मुक्ति पाउनुपर्छ ।’– मन्त्री बस्नेतले भने,–‘त्यसका लागि सरकारका तर्फबाट के गर्नुपर्नेमा त्यो हामी गर्छौ ।’ वन मन्त्री बस्नेतले जडिबुटीको उत्पादन, संकलन, प्रशोधन र बजारिकरणमा देखिएका समस्या प्याकेजमै समाधान गरिने पनि बताए ।
जडिबुटी व्यवसाय सीमित आम्दानीको स्रोत मात्र नभई देशकै आर्थिक विकासमा टेवा पुर्याउने आधार बन्न सक्ने मन्त्री बस्नेतले बताए । साधारणसभाको उद्घाटन सत्रमा जडिबुटी व्यवसायीहरुले आफुले झेल्दै आएका समस्याहरु हल नभएको गुनासो गरेका थिए । राज्यले जडिबुटी व्यवसायलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताउँदे जडिबुटी व्यवसायीहरुले दिनप्रतिदिन व्यवसाय धरासायी बन्दै गएको भन्दै वन मन्त्री बस्नेतको ध्यानार्कषण गराएका थिए ।
वन मन्त्री बस्नेतले आफुले यहाँका समस्या समाधानका लागि पहल गर्ने बताए । उनले गफ मात्र नगर्ने भन्दै काम हुनेमा ढुक्क हुन समेत आग्रह गरे । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले जडिबुटी व्यवसायका समस्याका बारेमा बोलेका थिए । उद्घाटन सत्र अध्यक्ष मोहमद याकुव अन्सारीको अध्यक्षतामा भएको थियो । जडिबुटी संघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मितिः     २८ पुष २०७५, शनिबार १६:२३  |