ढुवानीको साधन नहुँदा उपमहानगर भित्रकै तरकारीले उचित मुल्य पाएन


बाँके (कम्दी) :  ढुवानीको साधन नहुँदा नेपालगन्ज उपमहानगरपालिकाभित्रकै कृषकहरुले उत्पादन गरेको तरकारीको उचित मुल्य पाउन सकेका छैनन् । आफै ढुवानी गरेर बजारसम्म पठाउन नसक्ने भएपछि यहाँका कृषकहरुले कम मुल्यै ब्यापारीलाई खेतबाटै तरकारी बिक्री गर्न बाध्य छन् ।
‘व्यापारी खेतमा आफ्नै ढुवानीको साधन लिएर आउँछन् । तरकारी मुल्य उनीहरुले भने अनुसार नै कायम गर्नुपर्ने बाध्यता छ ।’–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ मा रहेको राधाकृष्ण तरकारी संकलन केन्द्रका अध्यक्ष गोपीप्रसाद यादवले भने ‘आफुले तरकारी बजारमा पठाउन नसकेपछि ब्यापारीले भनेकै मुल्यमा तरकारी बिक्री नगरेर सुःख छैन ।’
यतिबेला तरकारी उत्पादनको सिजन छ । सबैभन्दा बढि उत्पादन भएको बन्दागोपी खेतमै किन्न आउने व्यापारीलाई प्रति केजि १० रुपैया दिनुपरेको यादवले बताए । ‘ढुवानीको साधन हुन्थ्यो भने हामी नेपालगन्जमा मात्र होइन जिल्लाकै अरु ठाउँमा पनि बिक्री गर्न जान्थ्यौं । त्यस्तो गर्दा तरकारीको उचित मुल्य पाईन्थ्यो ।’– यादवले भने ।
राधाकृष्ण तरकारी संकलन केन्द्र अन्र्तगत ५० बढि कृषकले तीन सय बिघा जग्गामा तरकारी उत्पादन गरिरहेका छन् । एउटै सिजनमा झण्डै हजार क्विण्टल तरकारी बिक्री हुन्छ । तर ढुवानीको साधन नहुँदा त्यसको बजारिकरणको समस्या भइरहेको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका बाली संरक्षण अधिकृत शकिल अहमदले ढुवानीको साधन नहुँदा अधिकांस कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मुल्य पाउन नसकेको बताए ।
राधाकृष्ण तरकारी संकलन केन्द्रका अध्यक्ष यादवले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणलाई ढुवानीको साधनको व्यवस्था गरिदिन ध्यानार्कषण गराईएको बताए । उनले भने, –‘मेयर साबले व्यवस्था गर्छु भन्नुभएको छ । हामी आशाबादी छौं ।’ कृषी ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अहमदले कृषकहरुलाई पिकअप भ्यान जरुरी रहेको बताए । उनले भने, –‘त्यो भयो भने जिल्लाकै जुनसुकै ठाउँमा तरकारी बिक्री गर्न सकिन्छ । ’


प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार ११:१५  |
error: Content is protected !!