भारतीय गृहमन्त्री सिंहले भने,–‘नेपालबाट हुने पाकिस्तानी नागरिकको अवैध प्रवेश रोकिनुपर्छ’


कमल डाँगी
( रुपैडिया) :  एकिकृत भञ्सार जाँचचौकीको सोमबार यहाँ शिलान्यास गर्दै भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट पाकिस्तानी नागरिकको अवैध प्रवेश नियन्त्रण हुन नसकेको बताएका छन् ।
नेपालगन्ज रुपैडिया संयुक्त एकिकृत भन्सार जाँचचौकीको शिलान्यास गर्न केन्द्रीय गृहमन्त्री सिंह सोमबार रुपैडियामा आएका थिए । भारततर्फको एकिकृत भन्सार जाँचचौकी शिलान्यास गर्दै गृहमन्त्री सिंहले भने,–‘नेपालको बाटो हुँदै पाकिस्तानी नागरिकको अवैध प्रवेश भइरहेको सिकायत आएको छ । यसलाई हामीले काबुमा लिनुपर्छ ।’
गृहमन्त्री सिंहले अवैध प्रवेशको बिषय उठाएपनि नेपालसंगको मित्रता भने घनिष्ट रहेको उल्लेख गरे । एकिकृत भन्सार जाँचचौकीले व्यापारिक मात्र नभई भारत र नेपालबीचको पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने गृहमन्त्री सिंहले बताए । उनले भने,–‘पाकिस्तान बाहेक हाम्रा सबै छिमेकीसंग राम्रो सम्बन्ध छ । यस्ता सम्बन्धहरु अझ उचाईमा पुग्ने बिश्वास हामीले लिएका छौं ।’ आफ्नो सार्माथ्य बिर्सेर भारत माथि आँखा लगाउने गरेको भन्दै गृहमन्त्री सिंहले पाकिस्तानको चर्को बिरोध गरे ।
एकिकृत भन्सार जाँचचौकी निर्माण सम्पन्न भएपछि नेपालसंगको ब्यापार अझ बिस्तार हुने गृहमन्त्री राजनाथ सिंहले बिश्वास लिएका छन् । नेपालतर्फ नेपालगन्ज र भारततर्फ रुपैडियामा एकिकृत जाँचचौकी निर्माण भइरहेको छ । १ सय ४२ एकडमा बन्ने जाँच चौकीको निर्माणका लागि तीन अरव लाग्ने अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण गरिसक्ने अपेक्षा गरिएको छ । भारततर्फ एकिृत भन्सार जाँचचौकी निर्माणको काम धमाधम भएपनि नेपालतर्फ भने खासै प्रगति भएको छैन । नेपालगन्जसंग जोडिएको भारतीय सीमाक्षेत्रमा केन्द्रीय गृहमन्त्री सिंह आफै आएर एकिकृत जाँचचौकीको शिलान्यास गरेपछि निर्माण हुने अपेक्षा गरिएको छ । नेपालगन्जसंग जोडिएको भारतीय सिमाक्षेत्रमा राजनाथ सिंह तेस्रो पटक आएका हुन । यसअघि उत्तरप्रदेशको मुख्यमन्त्री भएकाले बेला उनी रुपैडियामा आएका थिए ।

प्रकाशित मितिः     ३० पुष २०७५, सोमबार १७:३५  |