पर्यटन मन्त्रीको भारत भ्रमण : नेपालगन्ज -दिल्ली हवाई रुटका बिषयमा पनि छलफल हुने आशा


नेपालगन्ज : भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा भाग लिन गएका संस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले नयाँ हवाई रुटका बिषयमा छलफल गर्ने बिषयलाई नेपालगन्जमा चासोपूर्वक हेरिएको छ । नेपालगन्ज दिल्ली हवाई उडानका लागि भारतले नयाँ रुट दिन आनाकानी गरिरहेका बेला नेपालका नागरिक उड्यनमन्त्री अधिकारीको टोलीले देशका अन्य नयाँ हवाई रुटका साथै नेपालगन्जका बिषयमा राख्छन् की राख्दैनन भन्ने कुरालाई यहाँ चासोपूर्वक हेरिएको छ ।

यसअघि भएका सहमति अनुरूप संस्कृति, पर्यटन अधिकारीले भारतीय पक्षसँग बुधवार यस विषयमा छलफल गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र एअरपोर्ट अथोरिटी अफ इन्डियाबीच यसअघि हवाई रूट दिने विषयमा सहमति भए पनि विभिन्न कारण देखाउँदै भारतीय पक्षले नेपालले प्रस्ताव गरेका रूट दिन नसकिने बताउँदै आएको छ ।

पर्यटन मन्त्री अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा सहभागी हुन भारत गएको मौकामा यस विषयमा छलफल हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । माघ १ र २ गते १ दिनसम्म चल्ने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बरालसहित भारत गएका छन् ।

कर्मचारी तहबाट यो विषय टुंगो नलाग्ने भएपछि राजनीतिक तहबाटै कुरा उठाउन आवश्यक देखिएकाले यो भेटमा मन्त्रीले भारतीय पक्षसँग छलफल गर्ने मन्त्रालयले जानकारी दिएको छ । गत असार २ गते नेपालमा भएको सहमतिअनुसार भारतले नेपाललाई थप चारओटा हवाई रूट दिनुपर्ने थियो । तर, एअरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको भन्दै तत्काल थप हवाई रूट दिन नसक्ने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले नेपाललाई अहिले एउटा हवाई रूट (सिमरा) मात्र उपलब्ध गराउँदै आएको छ । विभिन्न मुलुकबाट नेपाल आउने विमानहरू सिमरानजीकै रहेको रोमियो बिन्दुबाट नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, थाइल्यान्ड लगायत ठाउँबाट आउने जहाजहरू यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् । नेपालले भारतसँग सिमरा बाहेक महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको छ । भारतीय पक्षले महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर रूट दिने प्राधिकरणका अधिकारीको अनुमान थियो ।
नेपालगन्जबाट दिल्लीको हवाई उडानका लागि निरन्तर दबाब दिने काम भइरहेको छ । बुद्ध एयरले त आफुले उडान गर्ने घोषणा नै गरिसकेको छ । तर भारतले नयाँ रुछ नदिन उडान हुन सकेको छैन ।

प्रकाशित मितिः     २ माघ २०७५, बुधबार १२:३८  |