काठमाडौ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ती गरिने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहमा १/१ जना रोजगार संयोजक नियुक्तीको प्रकृया अघि बढाएको हो।१० हजार भन्दा कम जनसंख्या भएका ४८ स्थानीय तहमा नासु सरह र १० हजार भन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी कायम गरिएको छ। रोजगारीको आवेदन गर्दा नासु र शाखा अधिकृत सरहको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
मन्त्रालयले एक वर्षको लागि अस्थायी पदपूर्ति गर्ने र प्रदेश अन्तर्गतका स्थानीय तहमा खटाउने तयारी गरिएको छ। रोजगारीको लागि आवेदन दिन प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटबाट अनलाईन आवेदन दिन सकिने छ।रोजगारीको लागि आवेदन दिँदा सूचना प्रविधि क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। रोजगारीका लागि दुई वर्षको अनुभवलाई १० अंक, न्यूनतम भन्दा बढी शैक्षिक योग्यता भएमा २० अंक र न्यूनतम शैंक्षिक योग्यताको प्राप्त अंकको प्रतिशतका आधारमा ७० अंक दिने मन्त्रालयले जनाएको छ।
कम्प्युटरलेनै धेरै प्रतिशत अंक ल्याउने र धेरै अनुभव भएकोलाई योग्यताक्रम अनुसार छनौट गर्नेछ। एक स्थानीय तहमा तीन जनासम्म योगयता क्रम अनुसार छनौट गर्ने र पहिलो हुनेले केहि गरि काम नगरेमा दोस्रो र तेस्रोले अवसर पाउने छन्।छनौट हुने कर्मचारीले स्थानीय तह रोजेर काम गर्न पाउने छन्। एक वर्षको लागि करारमा अस्थायी नियुक्ती गरिएपनि स्थानीय तहले त्यसलाई पछि निरन्तरता दिने मन्त्रालयले जनाएको छ।
रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार नागरिक, रोजगारदाता, रोजगारीका अवसर लगायतका तथ्याङ्क संकलन गर्नुपर्नेछ। त्यसैगरि बेरोजगार नागरिकलाई परिचयपत्र र भत्ता वितरण गर्ने, रोजगारीको लागि आवश्यक सीप परिक्षण तथा तालिमको लागि तालिम केन्द्रमा सिफारिश गर्ने र रोजगारीको अवसर सिर्जना हुँदा सम्बन्धित सीप भएको व्यक्तिलाई सूचना दिने लगायतका काम पनि रोजगार संयोजकले गर्नुपर्नेछ। त्यसैअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीका अवसर दिइने मन्त्रालयको दावी छ।