नेपालगन्ज : जितु बंशकार नयाँ नेपाली गीत आउने बित्तिकै सुन्न छुटाउदैनन् । बजारमा आउने नयाँ गीतप्रति उनको संधै चासो रहन्छ । बंशकारलाई गीत सुनेपछि ब्याण्डबाजामा धुन निकाल्ने चौटारो हुन्छ ।
साथीहरुसंग बसेर ब्याण्डबाजामा नेपाली गीतको धुन गज्जव बनाउँछन् । गज्जब बनेको त्यही धुन सुनाउँदै जितको टिमले बिहेमा जन्तीदेखि दुलाह, दुलहीसम्मलाई खुबै नचाउँछन् । आफुले पनि आनन्दको महसुस गर्छन् । ब्याण्ड बाजा बजाउनु नेपालगन्ज रानीतलाउ निवासी जितु बंशकारको पुख्र्यौली पेशा बनिसकेको छ । हजुरवुवा, बुवा हुँदै तेस्रो पुस्ताकारुपमा उनले ब्याण्ड बाजा बजाउन सिकेका हुन । पुस्तान्तरणसंगै ब्याण्डबाजाको व्यवसायीकरण पनि हुँदै गएको छ । त्यही मध्ये एक हो, ब्याण्डबाजामा नेपाली गीतको धुन ।
‘सबैलाई एउटै गीत, संगित मन पर्दैन । फरक फरक गीतबाट मनोरन्जन लिनेहरु हुन्छन् ।’ जितु भन्छन् –‘हामीले यही बुझेर ब्याण्डबाजामा भिन्न भाषाका धुनहरु राखेका हौं ।’ बिगतमा ब्याण्डबाजा नेपालगन्ज जस्ता शहरी क्षेत्रमा अधिक प्रयोग हुन्थ्यो । त्यसबेला हिन्दी गीत मात्र बजाए पनि हुन्थ्यो । तर अहिले ब्याण्डबाजा रोल्पा, रुकुमदेखि कालिकोटाका गाउँ, शहरसम्म पुग्न थालेका छन् । यही कारण ब्याण्डबाजामा नेपाली धुन बनाउनुपरेको बंशकारले बताए ।
उनी भन्छन्–‘हिन्दी गीतमा पहाडतिर नाच्नेहरु पनि छन् । तराईतिर नेपाली गीतमा नाच्न चाहानेहरु पनि छन् । गीतमा रमाइलो गर्नेहरुको कुनै सीमा छैन । त्यही भएर सबै प्रकारका भाषाभाषीका गीतहरु भए धेरै राम्रो हुनेरहेछ ।’ बंशकारले जय माँ बागेश्वरी ब्रास ब्याण्ड सन्चालन गर्दै आएका छन् । उनले आँधी खोला उर्लेर आयोदेखि पछिल्लो समय सालको पात टपरी हुने जस्ता गीतको धुन बनाए । ‘ यस्तो गीत बजाउँदा आफुलाई पनि रमाइलो लाग्छ ।’– उनले भने ।
रानी तलाउकै सनम कुमार ब्याण्ड मास्टरले पनि परम्परागत भन्दा आधुनिक तरिकाले आफ्नो ब्याण्डबाजा टिम बनाएका छन् । रथदेखि अत्याधुनिक लाईटसम्मको व्यवस्था गर्दै बाजे, बज्यै भन्दा फरक तरिकाले सन्चालन गरिरहेका छन् । ‘बुवा, बाजेको पालामा जे आवश्यकता थियो त्यो गर्नुभयो अहिले हामीले अहिले आवश्यक भएका कुरा गरिरहेका छौं । हिजो सबैले हिन्दी सुन्दा पनि हुन्थ्यो । अहिले हिन्दी, नेपाली गीतमा कम्मर मर्काउन चाहाने सबेतिर छन् ।’–सनम कुमारले भने ‘अनि त्यही अनुसार हामीले धुन बनाउनुपर्ने भयो ।’ ब्याण्ड बाजा बजाउने पुख्र्यौली पेशाका रुपमा रहेको छ । यहाँका ब्याण्डबाजाहरु कठमाण्डौंसम्म पुग्ने गरेका छन् । मंसिर जस्ता बिहेको लगनका पर्वहरु ब्याण्डबाजा बजाउनेहरुको लागि सिजनको महिना हो । सनम कुमार भन्छन् –‘सिजनमा कमाई गर्न सकिएन भने छाक टार्न मुस्किल हुन्छ । ’