बाँके : शान्तिराम निरौलाले नेपालगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतका रुपमा कार्यभार सम्हालेको डेढ महिना भएको छ । डेढ महिनाको छोटो अवधीमा उनले नेपालगन्ज भन्सारमा सुधारको काम थालेका छन् । भौतिक पुर्वाधार निर्माणदेखि आयात, निर्यातमा देखिएका समस्या समाधानको पहल भएको छ ।
नेपालगन्ज भन्सारमा काम सुरु गरेलगत्तै उनले सबैभन्दा पहिले भारतबाट बिना अनुमति र परिक्षण बिनानै नेपाल भित्रिने दुधको आयातमा पुर्णरुपमा रोक लगाए । परिक्षण बिनानै नेपालगन्जमा मुल भन्सारबाटै भारतबाट दुध आउने गरेको थियो । त्यसलाई अहिलेसम्म कसैले रोक्ने हिम्मत गरेको थिएन । तर निरौलाले एकथोपा दुध पनि भित्रिन दिएका छैनन् । भारतबाट आउने अवैध दुध रोक्दा उनलाई सीमावर्ती भारतीय नागरिकहरुले नाकाबन्दी गर्नेसम्मको धम्की दिए । ‘नाकाबन्दी गर्छौ भनेर लिखितरुपमै भन्न आउनुभयो ।’–निरौलाले भने ‘तर हाम्रा नागरिकहरुको स्वास्थ्यमा असर पार्ने कुरालाई मैले अनुमति दिने कुरा भएन ।’ निरौलाले नाकाबन्दीको धम्की दिने भारतीय नागरिकहरुलाई परिक्षण र भन्सार तिरेर दुध बिक्री गर्न सुझाव दिएका छन् ।
नेपालगन्ज भन्सारबाट अवैधरुपमा भित्रिने भनेको चामल पनि हो । दैनिक जसो क्यारियर मार्फत बोराका बोरा चामल भित्रिएका छन् । भन्सार प्रमुख निरौलाले चामलको अवैध आयातमा पनि रोक लगाउन निर्देशन दिएका छन् । उनले सुधारको अर्को काम भौतिक पुर्वाधारबाट पनि
गरे । ‘भौतिक पुर्वाधारको अवस्था नाजुक रहेछ । माननीय अर्थमन्त्री ज्यु यहाँ आउँदा आफैले पनि यो कुरा भन्नुभयो । उहाँले त भौतिक पूर्वाधारमा सुधार गर्न भनिसक्नुभएको छ ।’– निरौलाले भने ‘ अहिले नेपालगन्ज भन्सारलाई चुस्तदुरुस्त पार्न पुर्वाधार निर्माणको काम थालनी गरेका छौं ।’ निरौलाले हाल भन्सार कार्यालयमा रहेको गेट निर्माण सुरु गरेका छन् । नयाँ भन्सार यार्डको भित्रिने र बाहिरिने गेटको जग्गा अधिग्रहण गरी दिर्घकालिनरुपमा फाईदा पुग्ने गरी भन्सारको नाममा ल्याईएको छ । यसअघि गेट अगाडीको भाग व्यक्तिको नाममा थियो । तर अब भन्सारकै भएपछि कामकाज गर्न सहज भएको छ । सोही ठाउँमा अत्याधुनिक शौचालय र प्रहरीका लागि सुरक्षाचौकी निर्माण गरिदैछ ।
नयाँ यार्डको ढलान र ट्रस्ट निर्माणको स्टिमेट गरी केन्द्रमा पठाईएको छ । ‘नयाँ यार्ड ढलान नगर्ने हो भने बर्षामा केही राख्न मिल्दैन । त्यही भएर यो काम गर्न खोजेका हौं ।’– निरौलाले भने । नेपालगन्ज भन्सारमा अहिले गोदाम घरको भरपर्दो व्यवस्था छैन । अब भने गोदाम घर, आवास र यात्रु शाखा व्यवस्थापन पनि गरिने बताउँदै निरौलाले भने,–‘यि सबै काम भयो भने नेपालगन्ज भन्सार चिटिक्क हुन्छ । काम छरितोपना आउँछ भन्ने बिश्वास छ ।’