छ महिनामा नेपालगन्ज भन्सार हुँदै २६ करोड बढिको चामल भित्रियो


बाँके : चालु आर्थिक वर्ष २०७५/ २०७६ को छ महिनामा नेपालगन्ज भन्सार हुँदै २६ करोड बढिको चालम आयात भएको छ । नेपालगन्ज भित्रिएको चामल बाँके र बर्दियाका साथै बिभिन्न जिल्लाहरुमा बिक्रीका लागि लगिन्छ ।
हरेक वर्ष चामल आयातको आकार बढ्दै छ । चालु आर्थि वर्षको पुस मसान्तसम्म ६९ करोड ४५ लाख एक सय २४ किलोग्राम चामल भित्रिएको हो । यसको मूल्य २६ करोड २९ लाख ४३ हजार ९ सय ७० रहेको छ । नेपालगन्ज नाका हुँदै कुनै बेला चामल भारत हुँदै तेस्रो मुलुक निर्यात हुने गरेका कुरा अहिले सपना सावित भएका छन् ।
नेपालगन्ज नाकामा पनि अन्यत्र जस्तै ब्यापार घाटा आँकाश पाताल फरक रहेको नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराज निरौलाले जानकारी दिए । नेपालगन्ज भन्सारका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढि डिजेल, पेट्रोल, एलपी ग्याँस आयात भएको छ । डिजेल एक अर्व ४३ करोड, पेट्रोल ६७ करोड र ग्याँस २८ करोड बढिको आयात भएको छ ।
चालु आर्थिक वर्षमा नेपालगन्ज भन्सारले लक्ष्य अनुसारको राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत निरौलाले बताए । लक्ष्य ५ अरव ६७ करोड १८ लाख ५२ हजार रहेकोमा ६ अरव २० करोड ५८ लाख ३१ हजार संकलन भएको छ । गत वर्षको सोही अवधीको तुलनामा यस वर्ष २ अर्व बढि असुली भएको प्रमुख भन्सार अधिकृत निरौलाले बताए ।

प्रकाशित मितिः     ७ माघ २०७५, सोमबार ०७:०४  |