नेपालगन्ज र सुर्खेतका व्यवसायीले एक स्वरमा भने,–‘हाम्रो सम्बन्ध कसिलो छ’


बाँके : नेपालगन्ज र सुर्खेतबीचको सम्बन्ध कसिलो बनाउने प्रमुख माध्यम ब्यापार हो । संघीयता कार्यान्वयन पछि अलग अलग प्रदेशमा रहेपनि दुबै ठाउँबीच अहिले पनि उत्तिकै घनिष्ट सम्बन्ध छ ।
आईतबार नेपालगन्ज उद्योग वाणिज्य संघमा सुर्खेत र नेपालगन्जका उद्योगी, व्यवसायीबीच जमघट भयो । उक्त जमघटमा नेपालगन्ज र सुर्खेतबीच रहेको पुरानो सम्बन्धका बिषयमा चर्चा हुनुका साथै सम्बन्धलाई अझ कसिलो बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा व्यवसायीहरुबीच कुराकानी पनि भयो । ‘बाजे, जिजुबाजेको पालादेखि हाम्रो व्यापारिक सम्बन्ध जोडिएको छ । यो सम्बन्ध प्रदेश बिभाजन हुँदैमा टुट्दैन ।’– सुर्खेत उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने,‘हाम्रा सम्बन्धहरु अझ कसिलो बनाउनेतिर लागौं ।’



सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत नेतृत्वको टोली नेपालगन्ज आएको थियो । उक्त स्वागत कार्यक्रममा बोल्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष रावतले प्रदेश बिभाजन हुँदैमा नेपालगन्ज र सुर्खेतको सम्बन्ध अलग नहुने बताए । उनले नेपालगन्ज र सुर्खेत अलग हुन नसक्ने भन्दै प्रदेश पनि एउटै बनाउनका लागि आन्दोलन गर्न परेपनि पछि नहट्ने बताए ।
ज्बाफमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले बर्षौदेखिको सम्बन्ध रहेको सुर्खेतसंग अलग गरेर निर्माण गरिएको प्रदेश बिभाजनप्रति नेपालगन्ज पनि असन्तुष्ट रहेको बताउँदै भने, –‘सरकारले हाम्रो असन्तुष्टि सम्बोधन गरेन भने हामी पनि आन्दोलन गर्छौ ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सुर्खेत र नेपालगन्ज व्यवसायीक हकहितका मुद्दामा एक भएर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मितिः     ६ माघ २०७५, आईतवार १८:१३  |
error: Content is protected !!