भोलीबाट दाङमा पोल्ट्री महोत्सव


दाङ : दाङमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० देखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो । ‘कुखुरा पालन एवम् बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवबारे महोत्सव मूल आयोजक समिति एवम् सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङले हालै पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।


घोराहीको कृषि सामग्री कम्पनीको मैदानमा सञ्चालन हुने महोत्सवमा जिल्लाको पोल्ट्रीसम्बन्धी प्रवर्द्धन गर्ने, जिल्लाको कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, यहाँको संस्कृतिको संरक्षणका साथै दाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले जानकारी दिए । महोत्सवमा कृषिसम्बन्धी ८० देखि १ सयसम्म स्टल रहने आयोजकले जानकारी दिएको छ । पोल्ट्री क्षेत्रमा अहिले दाङ नेपालको दोस्रो जिल्ला भएकोमा यो महोत्सवले अब पहिलो स्थानमा पुर्‍याउन सहयोग गर्नेसमेत आयोजकले अपेक्षा गरेको छ । करीब २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र २ करोडबराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मितिः     ९ माघ २०७५, बुधबार १७:५७  |
error: Content is protected !!