‘एकिकृत भन्सार जाँचचौकीमा नेपालले गर्न बाँकी काम छैन’


बाँके : नेपालगन्ज र रुपैडियामा संयुक्तरुपमा बन्न लागेको एकिकृत भन्सार जाँचचौकीको नेपालतर्फको काम सकिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताएका छन् । भारततर्फका एकिकृत भन्सार जाँच चौकीको शिलान्यास भइसकेको अवस्थामा नेपालतर्फ काम शुरु हुन नसकेको भन्ने गुनासोलाई खण्डन गर्दै निरौलाले नेपालले गर्ने कुनै काम बाँकी नरहेको दाबी गरे ।

‘यो एकिकृत भन्सार जाँचचौकी सबै भारतले बनाउने हो । हाम्रो तर्फ हामीले जग्गा अधिग्रहण गरे हुन्थ्यो । त्यो काम सम्पन्न भइसकेको छ ।’ प्रमुख भन्सार अधिकृत निरौलाले भने–‘ अब भारतले बनाएर सन्चालनका लागि साँचो दिन मात्र बाँकी छ ।’ अत्याधुनिक सुविधा सहितको एकिकृत भन्सार जाँचचौकीको भारत तर्फ केही दिनअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले शिलान्यास गरेका थिए । भारतमा शिलान्यास भएको तर नेपाल तर्फ कामनै शुरु हुन नसकेको व्यवसायीहरुले गुनासो गरेपछि भ्रम उत्पन्न भएको थियो ।

व्यवसायीहरुले एकिृत भन्सार जाँचचौकीलाई नेपालगन्जको समृद्धिको आधार मान्दै आएका छन् । उनीहरुले एकिकृत भन्सार जाँचचौकी निर्माणपछि तेस्रो देशबाट समेत सामान आयात हुने बताएका छन् । यस्तो अवस्थामा नेपाल तर्फ छिटो काम सक्न आग्रह गरिएको थियो । तर नेपालगन्ज भन्सार कार्यालयका प्रमुख निरौलाले अब सबै कुरा भारतमा निर्भर रहेको बताए ।

प्रकाशित मितिः     १३ माघ २०७५, आईतवार ०९:५०  |