‘विकासका लागि स्कुल बाधक बन्दैन । तर बिकल्प नै नदिई स्कुल भत्काउनु भएन भनेका थियौं । ’ बिद्यालयकी प्रअ सरस्वती शर्माले भनिन्–‘ केही दिन त चुप थिए । तर एकदिन पढाई भइरहेका बेला अध्यक्ष ज्युले ठेकेदारलाई धमाधम बिद्यालय भवन भत्काउन लगाउनुभयो ।’
बाँके : जानकी गाउँपालिका –३ इन्द्रपुरमा पहिलो पटक दश मिटर चौडा सडक बनेपछि उत्साह छ । साँघुरो बाटो फराकिलो बनेपछि स्थानीयबासिन्दा दङ्ग छन् । तर गाउँको बालबच्चा पढ्ने एक मात्र स्कुल त्यही बाटो बनाउँदा भत्किएको तीन महिना बित्दा समेत त्यसको व्यवस्थापन गर्न कसैलाई चासो छैन ।
बिद्यार्थी चिसो चौरमा बसेर पढाई गरिरहेका छन् । चिसोका कारण बिद्यार्थीमा रुखा,खोकी लाग्ने कुरा त सामान्य नै भएको छ । बिद्यालय भत्काउँदा खसेका इटमा लागेर दैनिक एउटा न एउटा बिद्यार्थीलाई चोटपटक लाग्छ । विकास गर्दा बिनासिएको बिद्यालयको नाम हो, नेरा प्रावि इन्द्रपुर । स्थापनाका हिसावले सम्भवत जिल्लाकै पुरानो बिद्यालय भित्र पर्छ । २०१७ सालमा स्थापना भएको हो ।
बिद्यालय रहेको गाउँको दुई किलोमिटर सडक बिस्तार गर्नुपर्ने भयो । जग्गा दिएर सडक फराकिलो बनाउन स्थानीय राजी भए । तर त्यसै सडकमा बिद्यालयको जमिन पनि प¥यो । छ कोठे बिद्यालयको चार कोठा निर्माणधिन सडकमै परेपछि बिद्यालय भत्काउने की नभत्काउने रस्साकस्सी सुरु भयो । बिद्यालयका प्रअ, शिक्षक, कर्मचारी बैकल्पिक व्यवस्था नभई बिद्यालय भत्काउन नहुने पक्षमा थिए । तर स्थानीय अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका नेता बिद्यालयको भवन नभत्काई सडक नै बनाउन नहुने पक्षमा अडिग भए ।
‘विकासका लागि स्कुल बाधक बन्दैन । तर बिकल्प नै नदिई स्कुल भत्काउनु भएन भनेका थियौं । ’ बिद्यालयकी प्रअ सरस्वती शर्माले भनिन्–‘ केही दिन त चुप थिए । तर एकदिन पढाई भइरहेका बेला अध्यक्ष ज्युले ठेकेदारलाई धमाधम बिद्यालय भवन भत्काउन लगाउनुभयो ।’ पढाई भइरहेका बेला बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुसबंधियाले ठेकदारलाई बिद्यालय भवन भत्काउन अनुमति दिएपछि चार वटा कोठा सडक निमाण गर्ने ठेकेदारले भत्काईदिए ।
‘त्यसपछि हाम्रो चौरमा पढाई भइरहेको छ ।’ प्रअ शर्माले भनिन्–‘चिसो मौसम अझ त्यसमा चौरमा बिद्यार्थी राख्दा थुप्रै समस्या आएको छ ।’ तीन महिना भइसक्दा समेत कुनै पनि निकायले बिद्यालयको व्यवस्थापन गर्न चासो नदिएको उनले बताईन । बिद्यालयमा रहेका दुई सय बिद्यार्थी चौरमै भएपनि पढ्न नियमित आईरहन्छन् । बिद्यालय हेर्दा अहिले खण्डहर जस्तो देखिन्छ । बिद्यालय सय मिटरको दुरीमा वडा कार्यालय छ । तर पनि बिद्यार्थीको त्यो अवस्थाप्रति कुनै सुनुवाई नगरेको पाईएको छ । वडा अध्यक्ष बिन्देश्वर बर्माले विकासका लागि बिद्यालयको भवन भत्काईएको बताए । ‘गाउँका मान्छेले स्कुलको भवन नभत्काएसम्म हामी पनि सडकका लागि जग्गा दिन्नौं भन्न थाले पछि स्कुलको जग्गा नभत्काई भएन ।’– बर्माले भने । उनले बिद्यालयको नयाँ भवन निर्माणका लागि गाउँपालिकाबाट २५ लाख छुट्याईएको बताउँदै भने,–‘अव बिद्यालयको नयाँ भवन बन्छ ।’ तत्कालका लागि भने पालको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।