ब्याजदर बृद्धि तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य महासंघको माग


नेपालगन्ज :  नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तियक्षेत्रले बढाएको चर्को ब्याजदर नियन्त्रण गर्न सरकारसंग माग गरेको छ । अव्यवहारिकरुपमा बढाईएको चर्को ब्याजदरका कारण निर्माणाधिन परियोजनाको लागत बढेको र नयाँ परियोजना ल्याउन नसक्ने अवस्था सिर्जना भएको महासंघको ठहर छ ।
उद्योग वाणिज्य महासंघको काठमाण्डौंमा सम्पन्न नवौं नवौं कार्यकारणी बैठकमा चर्को ब्याजदरका बिषयमा गम्भीररुपमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । उक्त बैठकले चर्को ब्यादजर नियन्त्रण गर्न नेपाल सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंक जस्ता निकायसंग पटक पटक छलफल भएपनि ती निकायबाट समस्या समाधानका लागि ठोस कदम चाल्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो ।
‘अव्यवहारिक ढङ्गबाट एकतर्फी ब्यादजर बढाईद बिगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारेको छ ।’ कार्यकारणी बैठकपछि प्रेसित बिज्ञप्तीमा भनिएको छ,–‘यसले देशकै समग्र अर्थतन्त्रलाई असर पु¥याउने निश्चित छ ।’ महासंघले ब्यादजर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण सिर्जना गर्न सरकार तथा सरोकारवाला निकायसंग माग गरेको छ ।
महासंघले ब्यादजर घटाउन माग गर्दै देशका बिभिन्न जिल्लाका उद्योग वाणिज्य संघले गरेको आन्दोलनप्रति ऐकवद्धता जनाएको उल्लेख गरेको छ ।

प्रकाशित मितिः     १६ माघ २०७५, बुधबार ०९:२६  |