हिम्मतवाला साईक्लिस्ट


नेपालगन्ज : बाँके देखि चिसापानी कर्णाली पुलसम्मको एक सय ३३ किलोमिटर यात्रा पुरा गर्दै ‘सद्भाव.कम टुर दि ठाकुरद्वार २०७५’ शनिबार सकियो । नेपालगन्ज साईक्लिंग क्लवको आयोजनामा पर्यटन प्रर्वधन गर्ने उदेश्यले गरिएको उक्त साईकिल यात्रामा बिभिन्न १५ जिल्लाका ४२ जना साईक्लिस्ट सहभागि थिए ।

बाँकेदेखि चिसापानीसम्मको साईकल यात्रामा सहभागि हुने साईक्लिस्ट मध्ये यामलाल रसाईली र ललितपुरका युवक लामा सबैको नजरमा परे । दुर्घटनामा परी खुट्टा गुमाएका यि दुई युवक एउटै खुट्टाले यसरी साईकल कुदाइरहेका थिए, लाग्थ्यो उनीहरुलाई केही भएकै छैन । सामान्य शारीरिक अवस्थाका साईक्लिस्टलाई उछिन्दै साईकिल कुदाइरहेको देख्नेहरु छक्क पर्थे । एकछिन सडकमा टक्क रोकिएर यामलाल र युवकलाई हेर्दै उनीहरुको हिम्मतलाई सलाम ठोक्थे ।

‘वाहा ! हिम्मत होस् त यस्तो’ भन्नेहरुको कमी थिएन । त्यसो त सहकर्मी साईक्लिस्टले यामलाल र युवकलाई फरक शारीरिक क्षमता भएको व्यक्ति भएको महसुस हुनै दिएनन् । तर उनीहरुको हिम्मत देखेर सर्वसाधारण मात्र होइन सहकर्मी पनि चकित पथ्र्ये । ‘हामीले उहाँहरुलाई फरक शारीरिक क्षमताको मान्छे जस्तो व्यवहार गर्ने कुरै भएन । प्रिय सहकर्मीका बारे त्यस्तो सोच्ने कुरा मनमै छैन ।’ साईकल यात्राका कार्यक्रम संयोजक शतिस निरौलाले भने–‘तर उहाँहरुको हिम्मतलाई देखेर हामी सबै चकित पर्छौ ।’ निरौलाले उनीहरुको हिम्मतबाट धेरैले हौसला मिलेको बताए ।

बाँकेदेखि बर्दियासम्म भएको उक्त इभेन्टमा बिश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागिता रह्यो । सद्भाव . कमले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रममा बिशेष सहयोग पर्या पर्यटन मन्च ठाकुरद्वार र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका , बासगढी नगरपालिका र ठाकुरबाबा नगरपालिकाको सहकार्य थियो। यसैगरी कार्यक्रम मा नेपालगन्ज बाइसाइकल प्रालि, नेपालगन्ज फोटोवाकर र बिजया स्टिलको समेत सहयोग र सहकार्य थियो । कार्यक्रममा सहयोग पुर्याउने बर्दिया रास्ट्रीय निकुञ्ज , नेपाल प्रहरी र नेपाली सेनालाई समेत आयोजकले धन्यबाद दिएको छ ।


यो कार्यक्रमले बाके र बर्दिया लाई जोडेको छ र यहाँ का प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वार मा साइकल पर्यटन सम्भव छ भन्नेकुरालाइ समेत स्थापित गरेको गरेको साईक्लिगं अभियानका अभियानता गगन थापाले जानकारी दिए ।

यामलाल रसाईली, ४० वर्ष, लम्की चुहा, कैलाली
साईकल यात्रामा आफ्नो २६ वर्ष ब्यतित गरेका रसाईली शारीरिकरुपमा विकलाङ्ग छन् । चार वर्षको हुदाँ लडेर उनको खुट्टा भाचिएको
थियो । गाँउले परम्परागत उपचार गर्दा उनले खुट्टा गुमाउनु प¥यो । खुट्टा नभएकै कारण उनलाई आवगमनमा समस्या हुन्थ्यो । उनलाई चिन्नेले विचराको संज्ञा दिन्थे । एकदिन उनी कामविशेषले घरजानेक्रममा सार्वजनिक यातायतमा चढ्न खोजे तर बसका कर्मचारीले अपाङ्ग भएकै कारण बसमा चढ्न दिएनन् उल्टै बसको ढोकाबाट ढकेलिदिए । त्यो दिनको तितो अमानवीय ब्यवहारका कारण उनको मनमष्तिष्कमा चोट पुग्यो र त्यही दिनबाटै उनले साइकल चढ्ने अठोट गरे । १९ वर्ष हुदाँ उनले भोगेको त्यो पाठबाट उनीमा आत्मबल बढ्यो र उनी अहिले देशकै पारा साइक्लिङ्गका अनुभवी यात्री भए ।
२०५९ सालमा ‘अपाङ्गको चाहान दिगो शान्तिको कामना’ भन्ने नारा सहित देश यात्रामा हिडँे । २ महिना १८ दिनमा देशका ३१ वटा जिल्ला घुमेर किर्तीमान कायम गरे । अपाङ्ग भएकै कारण हेला गर्नेहरुले मेरो सफलताबाट प्रभावित भए । त्यसपछि उनी नेपाल तथा भारतका थुप्रै साइक्लिङ्गमा सहभागि हुनथाले । सन् २०१७ मा भारतको अरुणाञ्चलमा एमटिभी पारा साईक्लिङ्गमा सहभागि भएका उनले ६ दिनमा ७ सय ३० किमीको दूरी पुरा गरे । प्रोत्साहन स्वरुप उनलाई ५० हजार भारतीय रुपैयाँ आयोजकले दियो । जहाँ नेपालसहित ११ देशका साइक्लिष्टको सहभागिता रहेको थियो । यस्तै उनले कोरा–२०१७ काठमाण्डौ, काठमाण्डौदेखि ‘टूर दी लुम्बीनी’ ४ सय ७५ किमी, २०१७ मै पोखरा सहर परिक्रमा, सन् २०१८ २६ जनवरीमा भारतको दिल्लीमा आयोजित साइक्लिङ्ग, २०७५ मा हेटौंडाबाट फाफरबारी सम्मको १ सय २५ कीमि दूरी सफलताका साथ पुरा गरे । एउटा खुट्टा भएका यामलाल २०७५ जेष्ठ ४ गते लम्की देखि रारा पुगे । १२ दिनको कठिन साईकल यात्राले उनको उचाँई झन बढायो । उनलाई सुरुवातमा परिवार, साथीभाईले साथ दिएनन तरपनि उनी अघिबढिरहे । आफ्नो यो सफलताको पछाडी श्रीमती र आमालाई श्रेय दिन्छन् । पहिलोपटक ठाकुद्धारा साइक्लिङ्गमा जान लागेका यामलाल उत्साहित छन् ।

युवक लामा, १९ वर्ष, ललितपुर,सानेपा
साइकल यात्रामा सहभागि युवक सवैभन्दा सानो उमेरका छन् । बस दुर्घटनामा आफ्नो खुट्टा गुमाएका युवक मनमस्तिष्कबाट आँटिलाछन् । सानै उमेरदेखि साईकल चलाउन औधी रुची राख्ने लामा पछिल्लो तीन वर्षदेखि साईक्लिङ्गमा ब्यस्तछन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण साइकल किन्न नसकेका लामा साथीभाईको साइकल चालउथे । धादिङ्ग स्थायी घर भएका लामा दुर्घटनापूर्व साईकल अक्कलझुक्ल चलाउनेगर्थे । अध्ययनका सिलसिलामा काठमाण्डौं आएका उनी विद्यालयकै बसमा पढ्न जान्थे । माथिल्लो कक्षापुगेपछि उनी सार्वजनिक बस प्रयोग गर्न थाले । सार्वजनिक बसबाट यात्रा गर्दा सधै विद्यालय र घर ढिलो पुग्ने गर्थे । कक्षा ९मा अध्ययन गर्दा सार्वजनिक बसको यात्रा गर्नेक्रममा बस नरोक्ने, भाडा दिदैन नचढाउने भन्दै बस कर्मचारिले अपहेलित गर्थे । त्यही क्रममा एकदिन उनले अपाङ्ग साइकलयात्री यामलाल रसाईलीलाई भेटे । उनीबाट प्रभावित भएका लामा सधै शनिबार साइकल सिक्नेमा अभ्यस्त हुन्थे । २०७४ सालमा काठमाण्डौंमा भएको प्यारा साइक्लिङ्गमा उनी प्रथम भए । तीनहजार नगद सहित प्रमाणपत्र र मेडेल पाएका लामालाई एक एनजिओले साइकल प्रदान गरे । त्यही दिनदेखि उनको साइकल यात्रा सुरु भयो । उनले हेटौडा कोरा २०१८मा ५५ किमीको दूरी, २०१८ मै हेटौंडाम भएको राइड टू दामनमा ७५ किमी तथा हेटौंडामा २०१८मा भएको टूर दी फाफरबारीको १ सय २५ किमीको यात्रामा सहभागि भए । उनी हालै काठमाण्डौंमा सम्पन्न देशकै पहिलो एकखुट्टा भएका अपांगहरुको फुटवल (एम्पुटी फुटबल)मा सहभागि भए । अपाङ्ग जोकोही हुनसक्छ तर आफुमा भएको क्षमता प्रस्फुटन गर्न कोही पनि पछि हुनुहुदैन, अघि बढ्नुपर्छ उनी आफूजस्तै थुप्रै युवालाई प्रोत्साहन गर्छन् । ११ कक्षामा अध्ययनरत उनी विकालङ्गले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् ।

प्रकाशित मितिः     १९ माघ २०७५, शनिबार १८:४५  |